#
|
|

नेपाल विद्यार्थी संघको १० वर्ष हुन लागेको ११ औं महाधिवेशन दिनहुँ सर्दै फेरि दुई पछिसम्म धकेलिएको छ । बिहीबार ३४ सय प्रतिनिधिको नाम सार्वजनिक गर्ने तयारी भए पनि आज बेलुकासम्म नाम सार्वजनिक गर्ने, भोलि उम्मेदवारी मनोनयन गर्ने र पर्सीमात्र चुनाव गर्ने तयारी भएको नेविसंघका प्रवक्ता युपि लामिछानेले जानकारी दिए ।
‘हिजै प्रतिनिधिको सूची सार्वजनिक गर्ने भनिए पनि रातीसम्ममा पनि सकिएन तर, आज भने बेलुकासम्म जसरी सूची सार्वजनिक गर्छौ’ लामिछाने भन्छन्, ‘अब शनिबार उम्मेदवारी दर्ता गर्ने र आइतबार मतदान गर्छौ ।’ लामिछानेका अनुसार ३४ सय बढी प्रतिनिधिको सूची टाँस्ने, मनोनयन दर्ता गर्ने र मतदान पनि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नै हुने भएको छ ।
अध्यक्षको उम्मेवदार तय गर्नै हैरानी
चारवटा समूह देखिएको नेविसंघमा एउटा गुटबाट एकभन्दा बढी अध्यक्षका दाबेदार देखिएपछि सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई उम्मेदवार तय गर्नै सकस परेको छ । देउवा पक्षबाट पूर्व महामन्त्री जितजंग बस्नेत र पूर्व उपाध्यक्ष भइसकेका नैनसिंह महरमध्ये को उम्मेवदवार बन्ने भन्ने अझै विवाद छ । दुवै देउवाको असाध्यै निकट भए पनि दुवैले आफैं आधिकारिक उम्मेदवार भएको भन्दै भोट मागिरहेका छैनन् । तर, सभापपति देउवाले आफ्नो तर्फको उम्मेदवार यो हो भनेर भनिसकेका छैनन् ।
त्यस्तै उम्मेदवार टुंग्याउन पौडेल पक्षलाई पनि उस्तै महाभारत परेको छ । पौडेल पक्षबाट त झन् चारजना मुख्य नेता अध्यक्षको लागि खडा भएका छन् । मनोजमणि आचार्य, दिपक भट्टराई, क्षितिज भण्डारी र निलकण्ठ रिजाल अगाडि देखिएएका छन् । यी सबैको दाबेदारी अध्यक्षमा देखिएपछि पौडेल पक्षलाई मिलाउन हम्मेहम्मे परेको छ । सिटौला पक्षबाट कुन्दनराज काफ्ले र खुमबहादुर खड्का पक्षबाट शुभराम बस्नेत पनि अध्यक्षका लागि चर्चामा छन् । दुवै समूहमा उपाध्यक्ष, महामन्त्री र कोषाध्यक्षको उम्मेदवार मिलाउन पनि उस्तै गाह्रो पर्ने देखिएको छ ।

एक जना अध्यक्ष, १४ उपाध्यक्ष, दुई महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्षसहित १५१ सदस्यीय कार्यसमितको टुंगो लाग्दैछ । कार्यसमितिमा २२ सदस्य मनोनित हुनेछन् ।
सिटौलालाई भाग दिंदा पौडेल पक्ष तनावमा
सिटौलापक्षबाट विधिसम्मत महाधिवेशनको माग गर्दै अनसनमा बसेका कुन्दनराज काफ्ले समूहलाई सभापति देउवाले भागबण्डाको आधारमा प्रतिनिधि दिएपछि रामचन्द्र पौडेल पक्ष तनावमा परेको छ । देउवालाई आफू कमजोर भएको ठाउँमा सिटौलाका प्रतिनिधि धेरै दिएर महाधिवेशनको नतिजा आफ्नो पक्षमा पार्न लागेको आरोप सो समूहको छ ।

महामन्त्री शशांक कोइरालाको महाराजगंजस्थित निवासमा आफू निकटका नेताको भेलामा पौडेल पक्षले आफूहरुलाई हराउन सिटौलाको तेस्रो समूह नियतवस नै खडा गरेको आरोप लगाएको छ । वास्तविकभन्दा पनि नतिजा प्रभावित पार्नका लागि आफू निकटका नेतालाई भागबण्डा भन्दै प्रतिनिधि चयन गरेको आरोप पौडेल पक्षको छ । देउवाले नतिजा प्रभावित गर्नैको लागि सिटौला पक्षलाई देखाएर यौ सबै विवाद झिकेको निष्कर्ष पौडेल पक्षले निकालेको बिहीबार मध्यरातासम्म चलेको भेलामा सहभागी एक नेताले जानकारी दिए ।
Comments[ 0 ]
Post a Comment