#
|
|

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास बैरागीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाई खाडी मुलूकमा रहेका नेपालीहरुका समस्याबारे गम्भीर चासो राख्दै खाडीका जेलमा रहेका नेपालीहरुको ठोस तथ्याङ्क दिन निर्देशन दिएका छन् ।
शुक्रबार दिउसो परराष्ट्र सचिवलाई बोलाएर प्रधानमन्त्रीले खाडी मुलूकका जेलमा रहेका नेपालीहरुको तथ्याङ्क तत्काल आफूलाई बुझाउन निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले भने, ‘साउदी, कतार, मलेसिया लगायतका खाडी मुलूकमा कति नेपाली बन्दी जीवन बिताइरहेका छन् ? कति कम्पनि टाट पल्टिएर नेपालीहरु कामबिहीन भएका छन् ? त्यसको ठोस तथ्याङ्क बनाएर तत्काल मलाई बुझाउनुहोला । सरकारले यसबारे आवश्यक निर्णय गर्नेछ ।’
भेटमा प्रधानमन्त्रीले खाडी मुलूकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे परराष्ट्र सचिवसँग जानकारी लिएका थिए । सो अवसरमा परराष्ट्र सचिव बैरागीले रामचन्द्र तिमिल्सिनाको सहयोगमा नीजि क्षेत्रबाट २८ लाख रुपैया संकलन भएको जानकारी दिएका थिए ।
प्रधानमन्त्रीले रामचन्द्र तिमिल्सिनाको घटनाबारे यथार्थ बुझेर थपजानकारी गराउन निर्देशन दिँदै सरकारले आवश्यक सहयोग गर्ने बताए ।
परराष्ट्र सचिवले पेट्रोलियम पदार्थको मूल्य घटेकाले खाडी मुलूकहरुमा धेरै कम्पनिहरु बन्द हुँदै गएको र नेपाली कामदारहरु कम्पनिबाट फिर्ता भइरहेको जानकारी दिए ।
भेटमा प्रधानमन्त्रीले आफ्नै देशमा उत्पादन कार्यमा लगानी गरेर वैदेशिक रोजगारको बिकल्प खोज्नेबारे आवश्यक निर्णय गर्ने बताए ।
यस अघी प्रचण्डले विदेशी भूमिमा फसेका नेपालीहरुलाई तत्काल उद्दार गर्न निर्देशन दिएका थिए ।
Comments[ 0 ]
Post a Comment