साउदीबाट घर फर्कन चाहनेलाई नि:शुल्क ‘एक्जिट भिसा’ दिने तयारी
Tuesday, August 9, 2016
#
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदी तथा श्रीलंकामा फसेका नेपालीहरुको उद्दार गर्न निर्देशन दिएपछि साउदीस्थित नेपाली दुताबासले घर फर्किन चाहने नेपालीहरुलाई नि:शुल्क ‘एक्जिट भिसा’ दिने विषयमा छलफल भैरहेको जानकारी दिएको छ ।
विदेशी भूमिमा फसेका नेपालीबारे समाचार पढेपछि प्रचण्डले नेपालीहरुलाई घर फर्काउन सबै कदम चाल्न ठाडो निर्देशन दिएलगत्तै साउदीस्थित नेपाली महावाणिज्यदूतले आफ्ना कामकारबाहीबारे जानकारी दिने क्रममा नि:शुल्क ‘एक्जिट भिसा’ दिने विषयमा कुरा भैरहेको जनाएको हो ।
दुताबासले साउदीमा अलपत्र परेकाहरुलाई खानाको प्रबन्ध मिलाइएको र तलब नपाएका ४१ कामदारमध्ये ६ जनालाई नेपाल नै फर्काइसकिएको समेत जानकारी दिएको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले साउदी अरब, श्रीलंका लगायतका मुलुकमा समस्यामा परेका नेपाली कामदारको उद्धारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
परराष्ट्र सचिव शङ्करदास वैरागीलाई टेलिफोन गरी नेपाली नागरिक विदेशमा अलपत्र पर्नु स्वाभाविक नभएको र नेपालीले कुनै पनि रुपमा दुःख पाउन नहुने भन्दै तत्काल स्वदेश फर्काउन भनेका थिए।
यसैबीच साउदी राजा सल्मान बिनले पनि विदेशी कामदारहरुलाई पैसा नदिने कम्पनीहरुलाई सरकारले कारवाही गर्ने संकेत गरेका छन् । नेपाल र भारतका कामदारहरु साउदीमा अलपत्र परका समााचारहरु भाइरल बनेपछि साउदी राजाले यस्तो आदेश दिएका छन् ।
Comments[ 0 ]
Post a Comment