#
|
|

श्रावण २५, २०७३- फिस्टेलको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका झापा धाइजन ६ पीपल डाँगीका क्याप्टेन रञ्जन लिम्बुको गाउँ शोकमा परेको छ ।
रञ्जनका बुवा भक्त लिम्बु सोमबार दिउँसो विराटनगरको एउटा कार्यक्रममा सहभागी भएर दमक आइपुगेका थिए । काठमाडौंबाट आफन्तले फोनबाट ‘रञ्जन हेलिकप्टर दुर्घटनामा पर्यो रे’ सुनाए । भक्तलाई सुरुमा पत्यारै लागेन । तर तारन्तर फोन बजेपछि उनलाई चिसो पस्यो, ‘साँच्चै सत्य हो कि क्या हो ।’ नभन्दै गत असारबाट २७ वर्ष टेकेका कान्छा छोराले उडाएको हेलिकप्टर दुर्घटना भएकै रहेछ ।
रञ्जनकी आमा शान्ताकुमारीलाई भने घटनाबारे ढिलो मात्रै जानकारी दिइयो । सोमबार अपराहन रञ्जनको घर पुग्दा आफन्त र छरछिमेकको भीड बाक्लिसकेको थियो । आमा शान्ताका आँखा थामिएको थिएन । आफन्त पनि सुकसुकाइरहेका थिए ।
रञ्जनले हिजो मात्रै आमा र दाजु राकेशसँग लामै गफ गरेका थिए । हिजोसम्म फोनमा मज्जाले बोलेको छोराको मृत्युको खबरले शान्ता भावविहवल छिन् । भनिन्, ‘आमा चाँडै घर आउँछु भन्थ्यो ।’ रञ्जन पछिल्लो पटक गत वैशाखतिर घर आएका थिए । दाजुको बिहेका कारण उनी केही दिन बसेर फर्किएका थिए ।
रञ्जनका बुवा पूर्वब्रिटिस सैनिक हुन् । ०४६ साल असार १० गते रञ्जन हङकङमा जन्मिए । सानैमा नेपाल आए । झापा चारआलीको लिटल एन्जल स्कुलबाट पढाइ प्रारम्भ गरे । २०६३ सालमा त्यही स्कुलबाट प्रथम श्रेणीमा एसएलसी गरे । उच्च अध्ययनका लागि राजधानी हानिए । किङस कलेजमा पहिला र पछि क्यापिटल कलेजबाट ‘ए लेभल’ सके । अमेरिकाको क्यालिफोर्नियामा ७ महिनाको पाइलट कोर्स गरेर फर्किए । उनले स्विट्जरल्यान्डबाट हालै २ महिने फ्लाइट रेस्क्युबारे एडभान्स कोर्स गरेका थिए ।
चाहेको भए उनी बेलायतमै बस्न सक्थे । पूर्वब्रिटिस सेनाका परिवारलाई बेलायत सरकारले रेसिडेन्सियल भिसा नै दिएको थियो । तर, उनलाई विदेशप्रति पटक्कै मोह भएन । उनकै जिद्दीले सिंगो परिवार बेलायत छाडेर यतै बसेका छन् । ‘बरु निगुरो खोजेर खान्छु विदेश जान्न भन्थ्यो,’ बुवा भक्तले भने । उनी दुई वर्षअघि हेलिकप्टर क्याप्टेन बनेका थिए ।
कम बोल्ने, जिद्दी र इखालु स्वभाव थियो उनको । ‘त्यही इखालु बानीले ऊ पाइलट बनेको थियो,’ बुवा भक्तले सुनाए । पढाइका अलावा चित्र बनाउन र फोटोग्राफीमा रञ्जनको विशेष रुचि थियो । उनी सधैं ‘लोप्रोफाइल’ मा बस्न खोज्थे । काठमाडौंमा घर किन्ने र बुवाआमालाई पनि यतै बोलाउने उनको इच्छा थियो । त्यो पूरा हुन पाएन । ‘कार किनेको थियो,’ भक्त भन्छन्, ‘घर किनेर चाँडै बोलाउँछु भन्थ्यो, उसको सपना पूरा हुन पाएन ।’
उनी पढेको स्कुलका प्रिन्सिपल सीवी कार्कीका अनुसार रञ्जन पढाइमा अब्बल थिए । ‘पढाइमा सानैदेखि अब्बल नै थिए,’ कार्कीले भने, ‘पढाइका अलावा चित्रकला उसको रुचिको विषय थियो ।’ पाइलट भएपछि उनले घर आएका बेला शिक्षक र सहपाठीलाई भेटेका थिए ।
Comments[ 0 ]
Post a Comment