#
|
|

ओली सरकार बनाउन मरिमेटेका र त्यतिबेला भारत विरोधी राजनीतिक गठबन्धनको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ओली सरकार ढाल्ने अवस्थामा पुग्दा भने भारतको इसारमा ढालेको आरोप लाग्यो ।
सरकार बन्दा भारत विरोधी र सरकार ढाल्दा भारत परस्तको आरोप खेपेका प्रचण्डमाथि चिनियाँ राष्ट्रपतिको संभावित नेपाल भ्रमण रोक्न ओली सरकार ढालेको आरोप समेत ओलीपक्षधरहरुले लगाउने गरेका छन् । तर चीनबाट प्रचण्डका लागि सुखद् संकेत आएको छ ।
चीनबाट आएको संकेत सही सावित भएमा भने प्रचण्डमाथि लागेका आरोपहरु आफस-आफ खारेज हुनेछन् । नेपालमा चीन निकट मानिएको ओली सरकार ढलेपछि चिनियाँ राष्ट्रपतिले आगामी अक्टोबरमा गर्ने भनिएको नेपाल भ्रमण स्थगित हुने भन्दै चलाइएको हल्ला निराधार रहेको संकेत चीनले गरेको छ । नेपालमा सरकार परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रभावशाली विज्ञले बताएका छन् ।
अहिले नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष जी चियेले चीन अध्ययन केन्द्रद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो बताएपछि प्रचण्डका लागि ठूलो राहत हुने देखिएको छ । चिनियाँ राष्ट्रपतिले प्रचण्डकै पालामा नेपाल भ्रमणगरेमा भारतको इसारामा चीन निकट सरकार ढालेको भन्दै प्रचण्डमाथि आरोप लगाउनेहरु चुप मात्र हुने छैनन् चीनसँग विशेष सम्बन्ध बनाएको भनिएका ओलीपछिका प्रचण्डले झनै ठूलो श्रेय लिन पाउनेछन् ।
सोमबार राजधानीमा बोल्दै जी चियेले भने ‘यही वर्ष हाम्रा राष्ट्रपतिको नेपाल भ्रमण हुनेछ र यसबाट दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुनेछ’ ।
केही समय अघि मात्र महाराजगञ्जस्थित खुलेको चाइनिज कल्चर सेन्टरको औपचारिक उद्घाटन चिनियाँ राष्ट्रपतिबाट हुने संकेत चिनियाँ कल्चर सेन्टरका प्रमुख यिन कुन्सोङले गरेका थिए । चिनियाँ संस्कृति र रहनसहनबारे प्रचार प्रसार गरी २ देशबीचको सम्बन्ध समेत सुद्धृढ गर्ने लक्ष्य लिएको चिनियाँ कल्चर सेन्टर खुलिसकेको भएपनि यसको औपचारिक उद्घाटन भएको छैन ।

सञ्चारकर्मीसँगको कुराकानीमा प्रमुख यिनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे आफूहरुलाई औपचारिक जानकारी नआएपनि नेपाली मिडियाकै आधारमा आफूले सेन्टरको उद्घाटन उक्त भ्रमणको बेला हुने अपेक्षा राखेको जानकारी दिएका थिए ।
यस अघि अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा लुम्बिनी आउने निम्तो पाएका चिनियाँ राष्ट्रपति सि जिनपिङ आगामी अक्टोबरमा काठमाडौं आउने तयारीमा रहेको बताइन्छ । भारत जानु अघि शी ले नेपालको भ्रमण गर्ने तयारी छ

हालै चीन भ्रमण गरेर फर्किएका उपराष्ट्रपति नन्दबहादुर पुनले पनि चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका थिए । चीनको सरकारी समाचार संस्था सिन्हृवाले नेपालमा प्रकाशित गर्ने ‘एसिया प्यासिफिक डेली’ को पछिल्लो अंकमा पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्न सक्ने उल्लेख गरेको थियो ।
आगामी अक्टोबर १५ र १६ मा भारतको गोवामा ब्रिक्सको आठौं शिखर सम्मलेनमा भाग लिन जानु अघि चिनियाँ राष्ट्रपति नेपाल आउने नेपाली अधिकारीहरुको अनुमान छ । यद्यपी यसबारे औपचारिक घोषणा हुन बाँकी छ । चीनले यो भ्रमणबारे कुनै जानकारी दिएको छैन । यस अघि चिनियाँ प्रधासनमन्त्रीको भ्रमण तालिका एक दिन अघि मात्र सार्वजनिक गरिएको थियो ।
यस अघि ओली सरकार रहेकै समयमा प्रचण्डले चीन भ्रमण गर्ने चर्चा चलेपनि अन्तिम समयमा आएर स्थगित भएको थियो । अघिल्लो पटक प्रधानमन्त्री बन्दा क्रम भंग गर्ने भन्दै पहिलो विदेश भ्रमणस्वरुप चीन भ्रमणमा गएका प्रचण्डले अहिले त्यस्तो उत्ताउलो भाषा नबोल्ने र पहिलो भ्रमण भारत नै गर्ने अपेक्षा गरिएको छ । प्रचण्ड चीन गएकै कारण ९ महिनामा प्रचण्ड सरकार ढलेको चर्चा पनि त्यतिबेला चलेको थियो ।
भारत र चीनका राजदुतको प्रतिस्पर्धा
प्रचण्ड प्रधानमन्त्री चयन भएपछि बधाइ दिने क्रममा चिनियाँ राजदुत भारतीय राजदुत २ पटक नै अगाडी देखिएका थिए । प्रचण्ड प्रधानमन्त्री भएर निवास पुग्नासाथ त्यहीँ पुगेर बधाइ दिएका चिनियाँ राजदुत वु चुन्ताइले सपथ ग्रहण गर्ने क्रममा सबैभन्दा शुरुमा गएर प्रचण्डलाई बधाइ दिएका थिए । शितल निवासमा पनि उनी निक्कै पछि मात्र लाइन बसेर प्रचण्डलाई बधाइ दिन पुगेका थिए ।
Comments[ 0 ]
Post a Comment