#
|
|

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सप्तरीको तिलाठीमा भएको बाँध विरोधी आन्दोलन भारत र नेपालका जनता जुधाउने सरकारको षड्यन्त्र अनुरुप भएको दाबी गरेका छन् ।
सीमा तथा बाँधको समस्या सरकारीस्तरबाट समाधान गर्नु पर्ने बताउँदै उनले भारतले बाँध बाँधुञ्जेल आँखा चिम्लिएर यस्तो अवस्था आउने परिस्थितिको निर्माण सरकारले नै गरेको आरोप लगाए ।
विराटनगरमा आइतबार सद्भावना पार्टी मोरङले गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले राज्य पुनःसंरचना आयोगले गरिरहेको स्थानीय निकायको पुनःसंरचना काम नलाग्ने बताएका छन् । यही आयोगले यस्तै तरिकाले गरेको पुनःसंरचना अनुसार हुने कुनैपनि निर्वाचनमा मधेशी दल सहभागी नहुने महतोको भनाइ छ ।
५१ प्रतिशत भन्दा बढी जनसंख्या रहेको मधेशमा १ सय ८८ गाउँपालिका बनाउने र ४९ प्रतिशत जनसंख्या रहेको हिमाल पहाडमा २ सय ७७ बढी गाउँपालिका तथा नगरपालिका बनाउने प्रस्ताव गर्नु मधेश विरोधी भएको उनले बताए । महतोले मधेश समस्या समाधान नगरी कुनैपनि निर्वाचन हुन नसक्ने बताए ।
समस्या समाधानका लागि कांग्रेस र माओवादीले मन लगाए एमाले पनि सहमतिमा आउन बाध्य हुने बताउँदै महतोले आफ्नो देशको समस्या समाधान नगरेर अरुलाई दोष थोपर्नु नहुने बताए ।
मधेश आन्दोलनमा दर्जनौं मानिसले ज्यान गुमाइसकेको बताउँदै खाएर १२ घन्टा बस्दैमा माग पुरा नहुने बताए ।समस्या समाधान गर्न अब बन्ने सरकारले पहल गर्नुपर्नेमा महतोले जोड दिए ।
यसअघि प्रचण्डले पनि मधेश २ प्रदेशमा सहमति गरे बताउँदै कांग्रेस र माओवादीले सोही प्रस्ताव संसदमा लगेर संविधान संशोधन गर्नुपर्ने महतोको भनाइ थियो । महतोले तराईको झापा, मोरङ, सुनसरी तथा कैलाली र कञ्चनपुरलाई टुक्र्याएर भएपनि सहमति खोज्नुपर्ने बताए ।
Comments[ 0 ]
Post a Comment