#
|
|

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भेट्न बालुवटार आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्नमाथि प्रश्न तेर्साएका छन् । बालुवाटार छिर्नेवित्तिकै के सन्दर्भमा भेट्न आउनुभो ? भनि सोधेका ओलीले निस्कने बेला पनि चैतमा चुनाव गर्ने कि प्रधानमन्त्री फेर्ने ? भनि प्रश्न गरे ।
पहिलो प्रश्नको जवाफमा प्रचण्डले राष्ट्रपतिबाट सहमतिको सरकार गठन गर्न दिएको समयका बारेमा भन्न नपाउँदै ओलीले लगत्तै अर्काे प्रश्न तेर्साए, ‘राष्ट्रिय सहमतिको सरकारका बारेमा तपाईको दल र तपाईसँग सहकार्य गर्न खोज्ने नेपाली कांग्रेसको धारणा के हो ? के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकार गठनको पक्षमा उभिएको हो ? त्यसपछि प्रचण्डले भने, ‘राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने अवस्था रहेपनि म धर्म निर्वाह गर्न वार्तामा आएको हुँ ।’ नेपाली कांग्रेसले संसदमा र सार्वजनिक रुपमा समेत ठूला राजनीतिक दलहरु कांग्रेस र एमाले सँगै सरकारमा बस्न नमिल्ने धारणा सार्वजनिक गर्दै आएको छ । ओलीले यस विषयमा काँग्रेसको स्पष्ट धारणा आउनुपर्ने बताए ।
काँग्रेस, माओवादी र मधेशी मोर्चाले बसेर गरेको निर्णय आफूलाई सुनाउन आएको भन्दै ओलीले अर्काे प्रश्न अघि सारे, तपाईहरु बसेर आफूखुशी चुनावको मिति तोकेर मलाई निर्णय सुनाउन आउने, अनि फेरि सहमतिको कुरा गर्ने ? प्रधानमन्त्री ओलीले अब बन्ने प्रधानमन्त्री चैतमा फेरिने र चैतमै स्थानीय निकायको निर्वाचन गर्ने कुरामा संगति नमिलेकोले निर्वाचन नै नगराउने षडयन्त्र भएकोमा आशंका व्यक्त गरे ।
केन्द्रका अध्यक्ष प्रचण्डले भेटवार्तामा अब बन्ने सरकारले वर्तमान सरकारले चीन सरकारसँग गरेका सम्झौताहरुको कार्यान्वयन गर्नुकासाथै राष्ट्रिय हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
प्रधानमन्त्री ओलीले यदि अब बन्ने सरकारले राष्ट्रिय हितमा काम गरे, काठमाण्डौं– तराई जोड्ने द्रुतमार्ग र चीनसँग भएका सहमति र सम्झौता लगायतका राष्ट्रिय हितका काम कार्वाही अगाडि बढाएा आफु र आफ्नो पार्टीले सहयोग गर्ने तर अबको सरकारको काम कार्वाही र व्यबहार हेर्ने बताएका थिए ।
भेटवार्तामा प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री भीम रावल, नेकपमा एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङ, नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रमुख सचेतक भानुभक्त ढकाल र नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।
Comments[ 0 ]
Post a Comment