#
|
|

नेपाली राजनीतिमा ‘नभै नहुनी मायाँ बैगुनी भन्ने उखान’ लागु हुन्छ प्रधानमन्त्री प्रचण्डको हकमा । प्रधानमन्त्री प्रचण्डलाई कतिपयले डाइनामिक भन्छन् त कतिपयले अस्थिर । प्रचण्ड आफैले संसदमा प्रधानमन्त्रीको उम्मेदवारीको सूचना दिने क्रममा आफूलाई फाइदा हुँदा डाइनामिक र घाटा हुँदा अस्थिर भन्ने गरिएको हेक्का रहेको बताए ।
अघील्लो पटक प्रधानमन्त्री हुँदा अनुभवको कमीले धेरै गल्ती भएपनि यस पटक आफूले गल्ती नगर्ने पटक पटक बताइरहेका प्रचण्डले शुरुवाती संकेत भने गल्तीकै चाङ लगाउने गरेका छन् ।
परिपक्व राजनीतिक खेलाडी केपी शर्मा ओलीलाई आफ्नै बुइ चढाएर सरकारमा पुर्याउने र आफै सरकार ढाल्ने काम गरेर आलोचनाकाबीच प्रधानमन्त्री बनेका प्रचण्डले गर्ने साना साना गल्ती नै उनलाई चिप्ल्याउने कारण बन्ने कुरा उनको पहिलो कार्यकालले पुष्टि गरिसकेको छ । सरकारमा गएको शुरु देखि अन्त्य सम्म लोकप्रियता कायम राख्न सफल हुनुमा ओलीले देखाएको चातुर्यता प्रमुख कारक हो । उनले केही पनि गरेनन् भन्दा अत्तियुक्ती हुँदैन तर धेरैलाई ओली गर्ने मान्छे हो भन्ने पार्न सफल थिए । यही कुरा प्रचण्डमा खड्किने देखिएको छ । सरकारमा गएको ३ दिनमै प्रचण्डले गम्भिर ३ गल्ती गरिसकेका छन् । ओलीलाई प्रतिपक्षी बनाएका प्रचण्डले यसको मूल्य भने राम्रैसँग चुकाउनु पर्ने हुन सक्छ । किन भने शुरु देखि नै प्रचण्डले विपक्षी चिढ्याउने र आलोचकहरुलाई मसला दिने काम शुरु गरेका छन् ।
प्रचण्डले ३ दिनमा गरेका ३ गल्तीः
१ – सचिवालयमा परिवार र कमजोर ब्यक्ति
युद्ध देखि अहिले सम्म पनि राजनीतिको केन्द्रमा रहेका प्रचण्डको जति आलोचना हुन्छ त्यति नै आशा पनि गरिन्छ । प्रचण्डले दोश्रो कार्यकाल प्रधानमन्त्री बन्दै गर्दा उनीमाथि रहेको आशालाई ब्यापकता दिने ठूलो अवसर हो । तर उनले प्रधानमन्त्री भए लगत्तै गठन गरेको सचिवालयमा परेका सदस्यहरुले प्रचण्डले अझै पनि चेतेका छैनन् भन्ने पुष्टि हुन्छ ।
यस अघि आफ्नो राजनीतिलाई पटक पटक धक्का पुर्याउने कारण बनेको परिवारका विवादास्पद सदस्य (यद्यपी प्रचण्डका लागि छोरो भन्दा विश्वास पात्र अरु हुन सक्दैन भन्नेमा शंका रहेन) पुत्र प्रकाश दाहाललाई उनल सचिवालयमा राखे । त्यति मात्र होइन उनले सचिवालयमा छानेका अन्य सदस्य र प्रमुख राजनीतिक सल्लाहकार समेत कमजोर देखिन्छन् । अलि पाको र निर्णय क्षमता भएका सल्लाहकार राख्नु पर्नेमा प्रचण्डले आफू निकटकाहरुलाई मात्र खुसी पार्न खोजेको (वा बाध्य भएको) देखिएको छ ।
यस अघि ओली सरकार गठन हुँदा प्रचण्डको पार्टीले मन्त्रीहरूलाई आफ्ना नातेदारलाई स्वकीय र निजी सचिव राख्न नपाउने आचारसंहिता बनाएको थियो । पार्टीका मन्त्रीहरुलाई लागु हुने कुरा प्रधानमन्त्रीलाई चाँहि लागु गर्नु नपर्ने ? जवकी यस अघी उपराष्ट्रपति बनेका नन्दकिशोर पुनका छोरा दीपेश पुनले यस्तै अवसर छोडेर बाहिरै बसेका थिए । प्रचण्डले छोरालाई सचिवालयमा राखेको भनेर बदनामी गर्नेहरुलाई पुनः अवसर दिएका छन् ।

२- अपरिपक्व प्रस्तुति
प्रचण्डले आफै पनि पटक पटक भनेका छन् । अघिल्लो पटक अनुभवको कमिले गल्ती भयो यस पटक दोहोरिँदैन । तर प्रचण्ड गल्ती गर्ने र पछुताउने नेताकोरुपमा स्थापित भैसकेका छन् । कतिपयले उनका हरेक निर्णयमाथि प्रश्न उठाउँछन् । प्रचण्डले प्रधानमन्त्री भए लगत्तै सपथ लिनु अघि नै विदेशी राजदुतहरुसँग भेट गरे । बधाइ दिने औपचारिक कार्यक्रम सपथग्रहणपछि राखिने गरेको भएपनि यस अघीका प्रधानन्त्रीले जस्तै कुटनीतिक मर्यादा विपरित प्रचण्डले राजदुतहरुलाई निजी निवासमै भेटे । चिनियाँ राजदुत प्रचण्ड प्रधानमन्त्री बन्नासाथ लाजिम्पाट पुगेर तस्विर खिचाउन भ्याएका थिए भने भारतीय राजदुत पनि सपथ लिनु अघी नै लाजिम्पाट पुगेर प्रचण्डलाई भेटेका थिए ।
भेटको क्रममा प्रचण्डको हाउभाउ समेत कुटनीतिक मर्यादाको ख्याल गरेको जस्तो देखिँदैन । राजदुतहरुसँग झुकेर प्रस्तुत भएको भन्ने आलोचना शुरु गर्ने मसला समेत प्रचण्डले विपक्षीलाई दिएका छन् । कतिपयले राजदुत रञ्जित रेसँग प्रचण्डका तस्विरमा झुकेको भन्दै इङ्गित गरेर ओलीसँग तुलना गरेको समेत देखिन्छ । यस्तो कुरामा उनलाई सल्लाहकार वा सचिवालयले सचेत गराएको देखिँदैन । जवकी ओलीले आफ्नो कुटनीतिक भेटघाटमा यस्ता कुरामा आलोचना नहुने गरी काम गरेका थिए ।

प्रचण्डले अर्को गल्ती पूर्व सहकर्मी र अहिलेको विपक्षी दललाई चिढ्याउने गरी शुरुवात गरेर गरेका छन् । उनले अघिल्लो सरकारले गरेको राजदुत सिफारिस (आफ्नै पार्टी समेत सहभागी भएको निर्णय) दोश्रो मन्त्रीपरिषदबाटै उल्ट्याए तर नयाँ थिति बसाल्नका लागि होइन अर्को सत्ता साझेदारलाई खुसी पार्न मात्र । यस अघिकै सरकारले मधेश आन्दोलमा मारिएकाहरुलाई १० लाख दिने निर्णय गरिसकेको र घाइते उपचारका लागि बजेट पठाएको रेकर्ड हुँदा हुँदै प्रचण्डले मन्त्रीपरिषदबाट उस्तै प्रकारको निर्णय गराए । यो निर्णयमाथि विपक्षीहरुले प्रश्न उठाइसकेका छन् । राजदुत फिर्ता र मधेशी दलसँगको सहमतिपछि गरिएको यो निर्णयबाट एमाले शुरु देखि नै भड्किने खतरा छ । पूर्व प्रधानमन्त्री ओलीमाथि औंलो ठड्याएर प्रधानमन्त्री बनेका प्रचण्डमाथि ओलीले पनि औंलो उठाउन शुरु गरेका छन् । यो प्रचण्डका लागि सुखद् संकेत होइन ।
त्यतिमात्र होइन प्रचण्डले ९ महिनापछि सरकारको नेतृत्व बदल्ने सहमति नभएको भन्ने भनाइ सार्वजनिकरुपमा राखेर सत्ता साझेदार दल नेपाली कांग्रेसलाई चिढ्याउने संकेत गरेका छन् । यस अघि प्रचण्ड र ओलीबीच सरकारको नेतृत्व फेर्ने विषयमा सार्वजनिकरुपमा नै जुहारी चलेको थियो । त्यसकै जगमा ओली सरकार ढालेका प्रचण्डले आफूसँग देउवाको सोही अवस्था नआओस भन्नेमा सचेत देखिनु उचित हुन्छ ।
३- सञ्चारमा संक्रिणताः
प्रधानमन्त्री प्रचण्डले उनका पूर्ववर्ती प्रधानमन्त्री ओलीको पालामा शुरु भएको ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ भन्ने लोकप्रिय टेलिभिजन र रेडियो कार्यक्रमलाई निरन्तरता दिएका छन् । तर उनले माओवादीमा संक्रिणता छ भन्नेहरुलाई मसला पनि सँगसँगै प्रदान गरेका छन् । टेलिभिजन कार्यक्रम शुरुवात गरेका र लोकप्रिय रहेका सञ्चारकर्मी प्रस्तोता रवि लामिछानेलाई विस्थापित गरेर सभामुख ओनसरी घर्तीको प्रेस संयोजक रहेका बबिन शर्मालाई ल्याएको छ ।
रवि लामिछानेले ओलीसँगका कार्यक्रममा कुनै भक्तिभावपूर्ण प्रस्तुति नगरेर निष्पक्ष कार्यक्रम चलाएको भन्ने छाप छोडेका कारण र माओवादीलाई सञ्चारकर्मी पनि माओवादी नै चाहिन्छ भन्नेहरुलाई मुख टाल्न पनि प्रधानमन्त्रीले रवि लामिछानेलाई निरन्तरता दिनु उचित हुन्थ्यो ।
आफूले शुरुवात गरेको कार्यक्रम आफूबाट खोसिएपछि रवि लामिछानेको फेसबुक प्रतिक्रिया यस्तो छः
त्यसमाथि नेपालका कुनै पनि नेता भन्दा बढी पाकपटुता भएका प्रचण्डका लागि प्रस्तोता को छ भन्ने कुराले खासै अर्थ राख्दैनथ्यो । किन भने उनले अहिले सम्म सञ्चार माध्यममा दिएका अन्तर्वार्तामा कुनै पनि प्रस्तोताले प्रचण्डलाई न्याक्न सकेको उदाहरण छैन । टेलिभिजन कार्यक्रमलाई निरन्तरता दिने र प्रस्तोता भने आफ्नो मान्छे चाहिने जस्तो देखिने निर्णय पनि प्रचण्ड र उनको टिमको कमजोरी र मिडिया तथा विपक्षीका लागि मसला बन्ने गल्ती बन्न सक्छ ।
Comments[ 0 ]
Post a Comment