#
|
|

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले पटक–पटक सरकार परिवर्तन भन्दा व्यवस्था परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन् ।
प्रदेश नं. एकमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन धनकुटा जानेक्रममा शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पटक पटकको सरकार परिवर्तनले मुलुकलाई अहिलेको अवस्थामा पुर्याएको बताए ।
ओली सरकार ढालेर नयाँ सरकार बनाउने चर्चा चलिरहेको बेला बाबुरामको यस्तो भनाइ आएको हो । बाबुराम ओली सरकार तत्काल ढाल्न नहुने पक्षमा देखिएका छन् ।
‘निरन्तरको सरकार परिवर्तनले राजनीतिक अस्थिरता बढ्दा मुलुकमा समृद्धि सम्भव भएन,’ उनले भने, ‘अब सरकार परिवर्तनको खेल छाडेर व्यवस्था परिवर्तनतिर लाग्नुपर्छ ।’ उनले मुलुकमा राजनीतिक स्थिरतामार्फत विकास र समृद्धि हासिल गर्न जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने शासकीय व्यवस्थामा जानुपर्नेमा जोड दिए ।
‘नयाँ शक्ति जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुने शासकीय व्यवस्थामा जानुपर्नेमा जोड दिन्छ,’ उनले भने, ‘यसबाट सरकार परिवर्तनको खेल रोकिन्छ र जनताले अनुभूति हुने गरी राजनीतिक व्यवस्था नै परिवर्तन हुन्छ ।’ संयोजक भट्टराईले राष्ट्रिय एकताका लागि मुलुकमा विद्यमान विविधतालाई समेटेर राष्ट्रिय एकता कायम हुनुपर्नेमा जोड दिए ।
‘समृद्धिको लागि अर्को शर्त भनेको राष्ट्रिय एकता हो, त्यसको लागि मुलुकमा विद्यमान विविधता संविधानमा समेटिनुपर्छ,’ उनले भने, ‘अधिकारसम्पन्न जनताले एकताबाट मात्र मुलुकलाई तिव्रतापूर्वक समृद्धिमा लैजान सकिन्छ ।’
स्थानीय निकायको निर्वाचनबारे सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउँदै संयोजक भट्टराईले निर्वाचन जहिले भए पनि हुने तर त्यसका लागि सरकारले केही पूर्वशर्त मान्नुपर्ने बताउनुभयो । ‘निर्वाचन छिटो हुनुपर्छ, छिटोभन्दा छिटो जनताको म्यान्डेट लिनुपर्छ,’ उनले भने, ‘तर सरकारले यसको लागि जनजाति लगायतका असन्तुष्टहरुको माग सम्बोधन गर्नुपर्छ, प्रदेशहरुको सीमांकन टुंग्याइनुपर्छ र स्थानीय निकायको पुनर्संरचना गर्नुपर्छ ।’ यी शर्तहरु पूरा गरेपछि निर्वाचन जहिले गरे पनि हुने उनको भनाई थियो ।
संयोजक भट्टराईले तीनवटै निर्वाचन एकैपटक गर्दा राज्यको खर्च पनि कम हुने र समयको पनि बचत हुने धारणा राखे ।
Comments[ 0 ]
Post a Comment