#
|
|

लिग चरणका तीनवटै खेलमा बराबरी, नक आउटका प्रिक्वाटरफाइनल र क्वाटरफाइनलमा मुस्किलको जित निकालुन्जेल पनि पोर्चुगलले युरोकप नै जित्छ भन्ने स्वयं उसैलाई पनि विश्वास थिएन की ? तर, समूह चरणमा मुस्किलले अझ धेरै अगाडि बढेर भन्नुपर्दा भाग्यले समेत साथ दिएर समूह एफमा तेस्रो हुँदै नक आउटचरणमा प्रवेश गरेको पोर्चुगलले अन्ततः नेपाली समय अनुसार सोमबार बिहान युरोकप नै जितेर विश्वफुटबललाई आश्चर्यमा पारिदियो ।
समूह चरणको नाटकीय खेल
क्रिश्चियानो रोनाल्डो प्रेरित पोर्चुगलले समूह चरणको पहिलो खेलमा नवप्रवेशी आइसल्याण्डसँग खेल्यो । तर, जित निकाल्न सकेन । १–१ गोलको बराबरीमा खेल टुंगियो । दोस्रो खेलमा अष्ट्रियासँग भिड्दा गोलरहित बराबरी खेलेपछि टिमको नकआउट चरणमा जाने सम्भावना धेरै नै क्षीण बन्न पुग्यो ।
समूह चरणको तेस्रो खेलमा स्पष्ट जित हासिल गर्न सके मात्र पोर्चुगल नकआउट चरणमा जाने जस्तो देखियो । तर, तेस्रो खेलमा पनि हंगेरीसँग बराबरीको नतिजा निस्कियो । तर, बराबरी हुँदा पनि ३÷३ गोलको बराबरीले पोर्चुगललाई फाइदा पुर्यायो । यही गोल अन्तरका कारण समूहमा तेस्रो भएर पनि पोर्चुगल अन्तिम १६ मा स्थान बनाउन सफल भयो । ३ को सट्टा २ गोलको बराबरी खेल्दा पनि पोर्चुगल अगाडि जान सक्ने थिएन । क्रिश्चियानो रोनाल्डोले अन्तिम लिग खेलमा २ गोल गरेपछि यसरी तीनपटक अग्रता लिएर पनि रोनाल्डोले बराबरी गर्दै टिमलाई अन्तिम १६ मा पुर्याए ।
नक आउट चरणको पहिलो खेल

नक आउट चरणको पहिलो खेल पोर्चुगलले क्रोयसियाविरुद्ध खेल्ने भयो । क्रोयसिया पनि कमजोर टोली थिएन । तर, पहिलो जितको खोजीमा रहेको पोर्चुगलले निर्धारित ९० मिनेटमा गोल गर्न सकेन । ११७ मिनेट कोरिस्माको गोलमा विजयी हुँदै अन्तिम ८ मा पुग्न सफल भयो ।
क्वाटरफाइनल उस्तै रोचक
क्वाटरफाइनलसम्म पुग्दा ९० मिनेटभित्र कुनै खेल नजितेको पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्ड प्रतिद्धन्द्धी पायो । तर, पोल्याण्डसँग पनि उस्तै हुन पुग्यो । दोस्रो मिनेमाट नै पोल्याण्डका लागि लेबान्डोस्कीले गोल गरेर दबाब दिए । तर, १८ वर्षे युवा खेलाडी रेनाटो सान्चेजले ३२ औं मिनेटमा बराबरी गोल गरे । ९० मिनेटसम्म गोल भएन । ३० मिनेटको थप समयमा पनि पनि गोल हुन सकेन । अन्ततः खेल पेनाल्टीमा पुग्दा पोर्चुगल ५–३ जित्दै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा पुग्दा पनि ९० मिनेटभित्र गोल नगरी जित्यो ।

सेमिफाइनलमा कमब्याक
सेमिफाइनलमा पोर्चुगलको भिडन्त थियो । सनसनीपूर्ण नतिजा निकाल्दै आएको वेल्सविरुद्ध । किनकी वेल्समा रोनाल्डोकै क्बल पार्टनर गेराथ बेलले निक्कै राम्रो खेलिरहेका थिए । तर, वेल्सका लागि यसपटक रोनाल्डो खलायक सावित हुन पुगे । र लय समात्दै उनले ५० औं मिनेटमा उत्कृष्ट हेड गोल गरे । तीन मिनेट लगत्तै नानीलाई उनैले पास दिएपछि भएको गोलमा पोर्चुगल २–० अघि रह्यो । अन्ततः यही अग्रताले उसको फाइनल यात्रा तय भयो । फाइनलमा पुग्ने म्याचमा मात्रै पोर्चुगलले ९० मिनेटभित्रै खेल जित्यो ।
बलियो फ्रान्स बाटो
पहिलो फाइनलिस्ट पोर्चुगल यसरी फाइनलमा पुग्दा गर्दा प्रभावशाली र युरो जित्ने आँकलन नगरिएका टिमलाई स्तब्ध पार्दै आए पनि उता अर्को फाइलिस्ट फान्स भने लयमा थियो । पहिलो खेलमा ग्रुप एमा फ्रान्सले रोमानियालाई २–१ ले हरायो । दोस्रो खेलमा अल्बानियालाई २–० हरायो भने तेस्रो खेलमा स्वीटजरल्याण्डसँग गोलरहित बराबरी खेल्यो ।
अन्तिम १६ मा रिपब्लिक अफ आयरल्याण्डलाई २–१ पराजित गरी क्वाटरफाइनलमा प्रवेश गर्यो । क्वाटरफाइनलमा आइसल्याण्डलाई ५–२ ले पराजित गर्दै सेमिफाइनमा जर्मनीसँगको भेट पक्का गर्यो । तर, विश्वविजेता जर्मनलाई २–० ले स्तब्ध पार्दै फ्रान्स फाइनलमा पोर्चुुगलसँग भिड्ने पक्का भयो ।
रोचक फाइनल र उपाधि भिडन्त
यस्तो लयमा भएको फ्रान्सले नै युरोकप जित्ने धेरेको अनुमान थियो । पछिल्ला १० खेलमा पोर्चुगलसँग फ्रान्स हार्नुपरेको थिएन । तर, सोमबारको फाइनल खेल फ्रान्सका लागि पीडादायी रहन पुग्यो । ९० मिनेटसम्म निरन्तर दबाब दिए पनि गोल गर्न सकेन । तर, १०९ मिनेटमा वैकल्पिक खेलाडी एडरले गरेको गोलपछि पोर्चुगलले पहिलोपटक युरोकपको उपाधि उचाल्यो ।
यता पोर्चुगलसँग विश्वकै सुपरस्टार क्रिश्चियानो रोनाल्डो थिए । उनले पोर्चुगललाई जिताउने धेरैको विश्वास थियो । तर, १६ औं मिनेटमा घाइते भएपछि पटकपटक उपचार गरी मैदान प्रवेश गरे पनि रोनाल्डो २४ मिनेटपछि खेल्न सकेनन् । आँशुको भेल बगाउँदै मैदान छाड्न बाध्य भए ।
रोनाल्डो बाहिरिएपछि पोर्चुगल थप दबाबमा नआएको होइन । फ्रान्सको एकपछि अर्को आक्रमण रक्षांप्िक्त र गोलकिपरले तोडिरहे । दोस्रो हाफमा पोर्चुगलले लय समात्ने प्रयास गर्दै गोलका लागि एक दुई मुभ पनि बनायो । तर, ९० मिनेटमा कुनै टोलीले गोल गरेनन् । खेलमा ३० मिनेट समय थपियो । रेनाटो सान्चेजको ठाउँमा मैदान प्रवेश गरेका एडरले डिएरिया बाहिरबाट देब्रे कुनामा प्रहार गरेको बल अन्ततः युरोकपको उपाधि दिलाउन पोर्चुगलको लाागि पर्याप्त हुन पुग्यो । सन् २००४ मा आफ्नै भूमिमा आयोजित युरोकपमा कमजोर मानिएको ग्रीसलाई १–० ले हार्दै मुर्छित भएको पोर्चुगल यसपटक कमजोर सुरुवात गर्दै फाइनलमा चुकेन । रोनाल्डो नभए पनि उनको अनुपस्थितिले पोर्चुल अत्तालिएन र युरोपको च्याम्पियन बन्न पुग्यो ।
Comments[ 0 ]
Post a Comment