
२८ असार,काठमाडौ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय स्वयम नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री बन्ने चरम महत्वकांक्षा बोकेका त्यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोलागि घातक हुने चेतावनी दिए ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सरकारको विकल्प खोज्नु पर्ने कारण र औचित्य पुष्टि नगरी प्रधानमन्त्री पदको लोभमा चालिएको कदम आत्मघाति हो, यसको मुल्य माओवादी केन्द्र र प्रचण्डले चुकाउनु पर्छ । ’
साक्षात्कारमा मन्त्री राईले स्पष्ट मार्गचित्र सहित सरकार अघि बढीरहेको, राष्ट्रको शिर ठाडो बनाएको, स्वाधिनताको झण्डा उचो बनाएको र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाईरहेको बेला माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको औचित्य पुष्टि गर्नै नसक्ने ठोकुवा गर्दै संविधान कार्यान्वयन हुन नदिने देशीविदेशी चाहनालाई बल पुर्याउने चालिएको कदम मुलुकको लागि समेत घातक हुने दावी गरे ।
उनले सरकार ढलेपनि बर्तमान नेतृत्व र नेकपा एमालेले संविधान कार्यान्वयन नगर्ने, मुलुकलाई असफल बनाउन अस्थिरता उत्पन्न गर्नेहरुको योजना सफल हुन नदिने स्पष्ट पार्दै सहमतिकै सरकार गठन गरेर अघि बढ्ने हो भने संविधान जारी गर्दा भएको १६ बुँदेको जगमा उभिएर छलफल गर्न भने सकिने बताए ।
नेकपा माओवादी केन्द्रका नेता देब गुरुङ्गले शान्ति प्रक्रियालाई निष्कर्समा पुर्याउने र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याएउने विषयमा सरकार तयार नभएकोले सहमतिकोलागि मार्ग प्रसस्त गर्न सरकारलाई दिएको समर्थन फिर्ता लिएको दावी गर्दै अब प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जुटाउन प्रयास नगरे अरुको नेतृत्वमा सहमतिको प्रयास हुने स्पष्ट पारे ।
काग्रेस र एमालेको सँगै नबस्ने सोचका कारण सहमति बन्ने स्थिति नभएको भन्दै उनले सहमति बन्न नसकेको स्थितिमा शान्ति प्रक्रियाको मुद्दामा जोसँग निकट होईन्छ उसैसँग मिलेर सरकार गठन हुने बताए ।
उनले भने,‘ अहिले सरकार फेर्ने भन्दा पनि एजेण्डामा राष्ट्रिय सहमति खोजिएको हो । शान्ति प्रक्रियालाई निष्कर्समा पुर्याउन नखोज्ने हो भने मुलुक शान्ति सम्झौता भन्दा अघिको स्थितिमा पुग्छ ।’
नेपाली काग्रेसका नेता चन्द्र भण्डारीले मुलुक सामान्य स्थितिमा नरहेकोले संविधान कार्यान्वयनको लागि प्रमुख तीन दल एक ठाँउमा बसेर अघि बढ्नु पर्ने आवश्यकता औल्याउँदै अहिलेको अवस्थामा प्रतिपक्ष हुनै पर्छ भन्ने स्थिति नरहेको बताए ।
उनले भने,‘ दलहरु मिल्दा राजालाई पनि घर पठायौ, संविधान जारी गर्न सक्यौ । अहिले हामी नमिल्दा संविधान कार्यान्वयनमा समस्या छ । तीन दल मिलेरै जानु पछृ ।
भण्डारीले संविधान कार्यान्वयनको लागि अहिलेसम्म केपी शर्मा ओलीले नेतृत्व गरेकोले अब काग्रेस सभापति शेरबहादुर देउवा र त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो गरेर सरकारको नेतृत्व गर्नु पर्ने भन्दै एमालेले अहिले बाहिर राखेर संविधान संसोधन लगायतका काम गरेर संविधान कार्यान्वयन गर्न नसकिने तर्फ सबैको ध्यान जानु पर्ने सुझाव दिए ।
नेपालमा दुरदृष्टि भएका नेतृत्व नै नभएकोले मुलुक संकटमा परेको गुनासो समेत गरे ।
Comments[ 0 ]
Post a Comment