#
|
|
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेको दोश्रो हप्तामै भारत र चीनका लागि विशेष दुत बनाएर आफ्ना सरकारका २ उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने निर्णय गरेका छन् ।
भारत र चीनसँग आफ्नो सरकारले विशेष सम्बन्ध विस्तार चाहेको सन्देश दिन र चीन र भारतीय भिभिआइपीका सम्भावित नेपाल भ्रमणलाई सहजिकरण बनाएर आफ्नो कार्यकालमा सम्बन्ध सुधारको संकेत दिन प्रचण्डले यो निर्णय गराएको देखिन्छ ।
नेपालमा विशेष राजनीतिक परिवर्तनको समयमा भारतबाट विशेष दुतहरुको भ्रमण हुने विवादास्पद चलन रहेपनि नेपाल सरकारले उपप्रधानमन्त्री स्तरमा विशेष दुत बनाएर दुई छिमेकी देशमा पठाउन लागेको भने यो पहिलो पटक हो ।
किन शुरु गरे प्रचण्डले नयाँ चलन ?
क्रम भंगता भन्ने शब्द प्रचण्डका लागि प्रिय छ । पहिलो पटक प्रधानमन्त्री हुँदा क्रम भंग भन्दै पहिलो विदेश भ्रमण चीन गएपनि उनलाई पछि पश्चाताप हुन पुगेको थियो । प्रधानमन्त्री प्रचण्डमाथि चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमण भाँड्न ओली सरकार ढालेको र भारतको इसारामा काम गरेको आरोप एमाले पक्षधरहरुले लगाइरहेका छन् । प्रचण्डका पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्धको अविस्वास प्रस्ताव दर्ता भएपछि यसलाई अस्वस्थ खेल र षडयन्त्रपूर्वक गरिएको योजनाको सज्ञा दिएका थिए । प्रधानमन्त्री पदबाट हटिसकेपछि ओलीले यस्ता आरोपलाई झनै बढावा दिएका छन् । तर आफ्नो उम्मेदवारीको सूचना दिने क्रममा प्रचण्डले यस्तो आरोपको खण्डन गर्दै देश प्राण भन्दा प्यारो रहेको जवाफ प्रधानमन्त्री ओलीलाई दिएका थिए ।
चीनसँग विशेष सम्बन्ध बनाएर लोकप्रिय बनेको भनिएको ओली सरकार ढालेको आरोप खेपेका प्रचण्डलाई चीनसँग सम्बन्ध नविग्रिएको र भारत तथा चीन दुवैसँग आफ्नो सरकारको पालामा झनै विस्तारित सम्बन्ध बन्ने सन्देश दिन खोजेको हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।
प्रचण्डले आफ्नो सरकार हुँदा नै यस अघी देखि चर्चा भएको चिनियाँ राष्ट्रपति शी जिन पिङको नेपाल भ्रमण र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पनि नेपाल भ्रमण गराएर २ देशबीच सन्तुलित सम्बन्ध देखाउन चाहेका छन् । आफ्नो सरकारकै पालामा केही विकाशका परियोजनामा दुवै देशबाट ठूलो राशिको लगानी भित्र्याउने उद्देश्य पनि प्रचण्डले राखेको बुझिन्छ । खासगरी चिनियाँ राष्ट्रपतिको भ्रमण हुने संकेत चिनियाँ पक्षले दिएपछि हौसिएका प्रचण्डले भारतबाट पनि सोही स्तरकै भ्रमण गराउन सके सन्तुलन पनि कायम रहने र दुवै छिमेकीबाट आफ्नै सरकारको पालामा देखिने स्तरको फाइदा लिन सकिने अपेक्षा राखेको श्रोत बताउँछ ।
कस्ता पात्रः के होला परिणाम ?
प्रचण्डले २ छिमेकीबीच सन्तुलित सम्बन्ध राख्नका लागि पठाउन लागेको भनिएका विशेष दुतको चयन भने निक्कै चलाखीपूर्णरुपमा गरेका छन् । भारत पठाउन लागिएका विमलेन्द्र निधीको भारतसँग विशेष सम्बन्ध रहेको छ भने कृष्ण बहादुर महरालाई धेरै अगाडि देखि चीनसँग जोड्ने गरिएको छ ।
विमलेन्द्र निधीः
प्रचण्डले भारत पठाउन चयन गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीमाथि यस अघी नै भारत परस्तको आरोप लाग्ने गरेको छ । निधी भारतसँग विशेष सम्बन्ध भएका मधेशमा आधार भएका नेता हुन् । मधेशी र नेपाली काग्रेसका सदस्य पनि भएका कारण उनको भारत भ्रमणबाट तुलनात्मकरुपमा भारत खुसी हुने अपेक्षा गरिएको छ ।
निधीले भारत भ्रमणमा गएर भारत सरकारबाट छोटो समयमा हुन सक्ने विकाशका परियोजनामाथिको तात्कालिक लगानी र राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको समय तय गर्ने जिम्मेवारी उनले पाएको श्रोतले बताएको छ । नाकाबन्दीका कारण भारतप्रति नेपालमा पैदा भएको वितृष्णा कम गर्न केही देखिने ठूला परियोजनामा सघाउ गर्नु पर्ने शर्त प्रचण्डले भारतीय पक्षलाई राखेको दावी केही समय अघी एक भारतीय पत्रिकाले गरेको थियो । यद्यपी निधीको भारत जाने समय र कार्यविवरण तोकिएको छैन ।
कृष्णबहादुर महराः
कृष्णबहादुर महरालाई धेरै अगाडी देखि चीन परस्तको आरोप लाग्ने गरेको थियो । उनी चीनसँग जोडिएर विवादमा पनि आएका थिए । तर पछिल्लो पटक ओली सरकार ढाल्ने समयमा भने उनी भारत गएर गोप्य वार्ता गरेको आरोप लाग्यो । उनीमाथि अख्तियारको डरले चीनको साथ छोडेर भारत तिर लागेको आरोप समेत लाग्ने गरेको छ । यद्यपी कुटनीतिक भाषा शैली र ब्यवहार भएका महरा प्रचण्डका मात्र होइन चीनका लागि पनि विश्वास पात्र नै भएको मान्ने गरिन्छ ।

महराले शान्ति प्रक्रियामा आएपछि पटक पटक चीनको भ्रमण मात्र गरेका छैनन् नेपालको राजनीतिमा चीनको प्रभाव बढाउन भूमिका पनि खेलेको आरोप खेपेका छन् । यसर्थमा महराको चीन भ्रमण पनि फलदायी नै हुने सम्भावना देखिन्छ । आगामी अक्टोबरमा हुने भनिएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तिथि तय गर्न र भारतमाथिको ब्यापारिक एकलौटी निर्भरता कम गर्न चिनियाँ सहयोग तथा अन्य कुरामा समेत महराको भ्रमणताका चर्चा हुने बुझिएको छ ।
कतिपयले प्रचण्डले शुरु गरेको विशेष दुतको परंपराले नेपालमा दुई छिमेकीको हस्तक्षेपको क्रम झनै बढ्ने र सरकार अस्थिर बन्ने खतरा पनि औल्याएका छन् । सरकारले छिमेकीलाई सोधेर मात्र कदम चाल्नु पर्ने खराव परंपरा समेत विकाश हुने कतिपयको चिन्ता छ ।
प्रचण्डले अघिल्लो कार्यकालमा गरेका गल्ती नदोहोर्याउने र छोटो समयमा केही महत्वपूर्ण काम गरेर देखाउने उद्घोष गरिरहेका छन् । भू-राजनीतिक कारणले सँधै छिमेकी (खासगरी दक्षिणी छिमेकी) को प्रभावमा फेरवदल खेप्नु पर्ने राम्रै बुझेका प्रचण्डले विशेष दुत पठाउने यस अघी कहिल्यै पनि नभएको चलन शुरु गरेर आफूले दावी गरे जस्तो अविस्मरणीय काम गर्न सफल हुन्छन् वा झनै खराव नजिर स्थापित हुन्छ त्यो भने हेर्न बाँकी छ ।
Comments[ 0 ]
Post a Comment