#
|
|
किन सबै तीर प्रेम बानियाँको तिब्र बिरोध हुदै छ ! न्युज २४ले माफी माग्नु पर्ने गरी के प्रसारण गरेको थियो ?
जय स्वाभिमान भन्दै दौरा सुरुवाल लगाएर राष्ट्रवादी कार्यक्रम चलाउने र नेताहरुलाई र्याखर्याख्ती पार्ने भाषण गरेकोमा वाहवाही पाएका न्युज २४ टेलिभिजनका प्रस्तोता प्रेम बानियाँ यो साता एकाएक ठूलै विवादमा फँसेका छन्। उनीविरुद्ध आक्रोशपूर्ण प्रतिक्रियाहरुले भरिएको छ सामाजिक सञ्जाल। फेसबुक र ट्विटरमा प्रेम बानियाँलाई भन्नुनभन्नु भनिरहेका छन्। किन यस्तो भइरहेको छ? उनले के गरेका थिए? किन न्युज२४ टिभीले माफी नै माग्नुपर्यो? यो प्रकरणबारे थाहा नभएकाका लागि यो लेख!
न्युज२४ टिभीले मागेको माफीनामा
प्रेम बानियाँको एउटा चर्चित कार्यक्रम छ पावर न्युज। यही कार्यक्रममा उनले केही दिनअघि खादा (खतक)को प्रयोगको आलोचना गर्दै रिपोर्ट प्रसारण गरे। त्यो कार्यक्रम साउन १८ गते युट्युबमा पनि रिलिज भयो।
(खादा सम्बन्धि प्रेम बानियाँको बिबादित भिडियो पावरन्युजको यो हो )
खादा प्रयोग गर्नेहरुलाई मूर्खसम्म भनिएको र प्रतिबन्ध नै लगाए फरक नपर्ने भनिएको यो कार्यक्रम हेरेपछि स्वभाविक रुपमा बौद्ध धर्मावलम्बीहरु मर्माहत् भए। खादाको बारेमा बुझ्दै नबुझी कार्यक्रम बनाएको भन्दै उनीहरुले विरोध गर्न थाले।
के थियो कार्यक्रममा ?
कार्यक्रममा खादाको जथाभावी प्रयोगबारे चिन्ता जनाइएको छ। प्रेम बानियाँ कार्यक्रममा भन्छन्- महत्व नै नबुझी जथाभावी प्रयोग गर्दा त्यसको गम्भीर असर देशको अर्थतन्त्रमा परेको छ।
तर अर्थतन्त्रमा गम्भीर असर परेको पुष्टि भने उनले गर्न सकेका छैनन्। यसका लागि एक व्यापारीको वार्षिक २० करोड जतिको आयात हुन्छ भन्ने कोट उपयोग गरिएको छ जसलाई कतैबाट भेरिफाइ गरिएको छैन।
बानियाँले कार्यक्रममा भनेका छन्- संस्कारमा अतिक्रमण भएको छ। अकल्पनीय सामाजिक क्षति भएको छ। वार्षिक करोडौँको खादा आयात हुनु, फूल बिर्सनु माला बिर्सनुले वातावरणमा प्रतिकूल प्रभाव परिरहेको छ।
उनले यसलाई पुष्टि गराउन तत्कालीन प्रधानमन्त्री केपी ओलीको त्रिविको कार्यक्रममा गरिएको सम्बोधनलाई उपयोग गरेका छन् जसमा ओली भन्छन्- केमिकल जस्तो खादा छ नि, न डढ्छ न सड्छ। यो त प्लास्टिक जस्तो हो। यो त एकदमै स्वास्थ्यका लागि हानिकारक छ। एउटा फूल दिए त भो नि खादा भन्दा त। सडाउँ भने सड्दै सड्दैन। यसको प्रयोगलाई प्रोत्साहित नगरौँ भन्ने मेरो आग्रह छ। बुट्टा बुट्टामा लेख्या हुन्छ। के लेख्या हुन्छ हामीलाई थाहा हुन्न।’
कार्यक्रममा ठोकुवा गर्दै भनिन्छ- खादा नेपाली मौलिक संस्कृतिभित्र नपर्ने र विदेशबाट आयात हुनेमा कुनै शंका छैन
खादामा तिब्बती भाषामा लेखिएको हुन्छ र स्वतन्त्र तिब्बतको प्रचार पनि गरिएको हुन्छ भनेर कार्यक्रममा भनिए पनि त्यस्तो लेखिएको खादा टेलिभिजन दृश्यमा भने देखाइएको छैन।
त्यसपछि हौसिएर प्रेम बानियाँ भन्छन्- ‘फूलको मालाको बदला खादाको प्रयोग गर्नेहरु जत्तिको मूर्ख को होला? जसले देशको अर्थतन्त्रमा समेत गम्भीर असर गरिरहेको छ। वातावरण बिगारिरहेको छ। संस्कार र सभ्यता नै बिगारिरहेको छ।’
खादाको प्रयोग अस्वभाविक हो भनिन्छ। ‘आयातित खादाको आवश्यकता नै छैन नेपालमै उत्पादित फूल नै पर्याप्त छ भनेर धेरैले तर्क गरिरहेका छन्’ भनी कार्यक्रममा भनिन्छ तर यो धेरै भनेको को हो, कसैको बाइट प्रसारण गरिँदैन। नेपालमा फूल उत्पादन पर्याप्त नभएर वार्षिक १० करोडको फूल आयात गरेको समाचार गत वर्ष आएको तथ्यप्रति आँखा चिम्लँदै कार्यक्रममा भनिन्छ- नेपालमै उत्पादित फूल नै पर्याप्त छ। र अझै हौसिएर कार्यक्रममा भनिन्छ- ‘खादाको प्रयोगमा प्रतिबन्ध लगाउँदा पनि फरक पर्दैन भनेर जानकारहरुको बुझाइ छ।’ ती जानकारहरु को हुन्, त्यो पनि कार्यक्रममा खुलाइँदैन।
यति हुँदाहुँदै पनि बानियाँले कार्यक्रममा ‘खादा सभ्यता जुन धर्म र वर्गको हो उसका प्रति सम्मान र आदर नै गर्छौँ’ चाहिँ भनेका छन्। उनले बुझ्दै नबुझी खादा प्रयोग गर्नेहरु प्रति लक्षित भने पनि त्यस्तो देखाउन सकेका छैनन्। न देशमा ठूलो आर्थिक क्षति भएको कुराको बलियो पुष्ट्याइँ गर्न सकेका छन्।
आलोचनाको बाढी
कार्यक्रम प्रसारण भएसँगै आलोचनाको बाढीले प्रेम बानियाँको जय स्वाभिमानी छविलाई क्षति पुर्याउन थाल्यो। स्वदेशमात्र हैन विदेशबाट पनि कार्यक्रम हेर्नेहरुले उनको आलोचना गर्न थाले। उनीहरुका केही तर्क यस्ता छन्-
-फूल बरु पुनः प्रयोग हुँदैन। खादा पुनः प्रयोग गर्न सकिन्छ। मान्छेलाई चढाएको खादा देउतालाई मात्र चढाउनु हुँदैन अरु मान्छेलाई चढाउँदा हुन्छ। देउतालाई चढाएको खादा मान्छेलाई प्रयोग गर्न मिल्छ।
-फूल पनि आयात गर्नुपर्छ। यसले चाहिँ आर्थिक क्षति गर्दैन?
-गौतम बुद्ध नेपालमा जन्मेको हो भनेर दिन रात नथाक्ने चित्कारहरुले बौद्धमार्गीहरुको संस्कारलाइ आयातित कसरी देख्यो ?
-बरु फूलको एक पटक प्रयोग भए पछि पुनः प्रयोग गर्न मिल्दैन तर एउटै खादालाइ पटक पटक प्रयोग गर्न सकिन्छ र गरिन्छ पनि। खादा रेशमले बनेको हुन्छ प्लास्टिकको होइन, खादामा बुट्टा भरिएको होइन पवित्र अष्टमंगल टासी ताग्ये छापिएको हुन्छ।
-जसरी अन्य लत्ताकपडा डिस्पोज हुन्छ त्यसरी नै खादालाई डिस्पोज गर्न सकिन्छ त्यसैले खादाको प्रयोगले वातावरण प्रदुषण हुन्छ भन्नु त्यो भन्ने व्यक्ति जतिकै हावादारी र बकम्फुसे कुरा हो।
-नेपालमा नूनदेखि सुनसम्म सबै विदेशबाटै आयात गरिन्छ भने खादा आयात हुँदा किन टाउको दुखाइको बिषय बन्यो ?
साभार -माइसंसार ब्लगबाट
Comments[ 0 ]
Post a Comment