#
|
|
काठमाडौं, १० साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न कालो पर्दा पछाडि बसेर खेल्नेहरुलाई पार्टीले हेरिरहेको बताएका छन् । कुनै शक्तिले प्रत्यक्ष वा परोक्षरुपमा ओली सरकार गिराउन कालो पर्दा पछाडिबाट भूमिका खेलेकाले यसबारे उचित समयमा पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने भट्टराईको भनाइ थियो ।
उनले पर्दापछाडिकै खेलबाट ओली सरकार ढालेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न लागेको बताउँदै यसबारेमा अहिले एमाले ‘पर्ख र हेर’ को रणनीतिमा रहेको उल्लेख गरे ।
‘एमालेले आगामी दिनमा संसदमा जिम्मेवार प्रखुम प्रतिपक्षीको भूमिका निर्वाह गर्दै र संविधान कार्यान्वयन, बजेटमाथिका आश्रित विधेयक पारित गर्ने काममा भूमिका खेल्छ’, उनले भने, ‘समयमै तीनवटा निर्वाचन गराउने, भूकम्पपछिको पुनर्निर्माणमा सरकारलाई दबाब दिने र राष्ट्र निर्माणका लागि जनदबाब पैदा गर्ने काममा लाग्छौं ।’
ओली सरकारले ल्याएको बजेट आंशिक पास भइसकेको बताउँदै भट्टराईले आश्रित विधेयकका लागि पनि आफूहरु सक्रिय हुने बताए । ‘ओली सरकारले ल्याएको बजेट आंशिक पास भएको छ, आश्रित विधेयक पास हुन सकेको छैन’ सचिव भट्टराईले भने‘, ‘आगामी दिनमा बन्ने सरकारले विधेयक सदनमा ल्याउनै पर्छ, हामी विधेयक पास गर्न सहयोगी भूमिका खेल्छौं ।’ एक फरक प्रसङगमा सचिव भट्टराईले एमालेले सदैव संसदीय व्यवस्थामा विश्वास गर्ने भएकाले सडकमा जाने सम्भावना तत्काल नरहेको प्रष्ट पारे ।
‘एमाले पार्टी सदैव सदनमा विश्वास गर्छ, सडक एमालेका लागि होइन, संसदमा हामीलाई बेवास्ता गरियो भने शान्तिपूर्णरुपमा शालिन ढंगले जमनत बनाउन सडकमा जान सकिन्छ, तर यो अवस्था नआउन सक्छ, आउनु पनि हुन्न’, उनले भने ।
Comments[ 0 ]
Post a Comment