#
|
|

काठमाडौं २ भदौ | अस्ति शनिबार प्रकाशित युग पाठकको ‘राष्ट्रवाद : प्वाँख कि पखेटा ?’ लेखले ढुकुटी खनेर आँगन पुर्ने उक्तिको स्मरण गरायो । लेखकका अधिकांश दलिल पूर्वाग्राही छन् । उनका केही दलिल खण्डन नगरी रहनै सकिँदैन ।
‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने पंक्ति राजा महेन्द्रकै भाषण भए पनि लेखकलाई पंक्तिप्रति किन आपत्ति भएको हो, बुझ्न सकिएन ।
यसको भावमा के खोट देख्नुभो ? कि महेन्द्र भन्ने बित्तिकै सबै कुरा बिटुलो हुन्छ भने हेटौंडा–झापा गर्दा तपाईं पनि प्वाँख लगाएर उड्नुहोला । किनभने महेन्द्रराजमार्ग तिनै अछूत महेन्द्रले शिलान्यास गरेका हुन्, वैशाख १,२०१९ मा ।
अमरसिंह सम्पत्तिको लोभमा लडेका हुन् भनी कसरी भन्नुभयो ? के ब्रिटिसहरूसँग गोर्खालीभन्दा धेरै सम्पत्ति थिएन ? के अमरसिंह राष्ट्रघाती सुगौली सन्धि सहन नसकी आत्मदाह गर्न गोसाइँकुण्ड गएको थाहा छैन ?
इतिहासको जानकारी नभएर त हैन होला, तर कसरी भन्नुभयो कि लखन थापाको विद्रोह शाहवंशप्रतिको चिढचिढाहट थियो भनेर ।
जबकि लखन थापाले जंगबहादुर विरुद्ध विद्रोह गरेका थिए, जसले शाहवंशबाट सत्ता खोसेका थिए । यसमा जंगबहादुरकै मन्त्री जयसिंह चुमी मगरले साथ दिएका थिए भन्ने बिर्सिनु हुँदैन, जो राजसंस्थाप्रति बफादार थिए ।
बलभद्र पन्जाव सेनामा गएको भन्ने कुरा विवादास्पद छ, यसमा ठोकुवा ठोस प्रमाणसहित गर्नुपर्छ, हचुवाको भरमा हैन । शंकाको सुविधा प्राप्त हुँदा पनि इतिहासमा जगजाहेर छ कि सेनाको पलायन दरबारिया गुटबन्दीको कारण थियो, नकि राष्ट्रप्रतिको गद्दारी ।
राजारजौटाको आंशिक शासन थियो भनेर प्रमाण दिनुभएको भए उचित हुन्थ्यो । २००७ सालपछि राजारजौटाको सांस्कृतिक अधिकार खोसिएको हो, मुस्ताङी राजाको बाहेक अन्यथा हैन ।
भीमदत्त पन्त र रामप्रसाद राईले देशविरुद्ध हतियार उठाएर प्रिथकतावादी आन्दोलन गरेको भनी जीवनपर्यन्त पुष्टि गर्न सक्नुहुन्न । त्यो व्यवस्था विरुद्ध थियो भनेर लेख्नुभएको भए उचित हुन्थ्यो सायद ।
काठमाडौं उपत्यकाभित्र किन मधेसीलाई निषेध गरिएको कुरामा बढी प्रकाश पार्नुभएको हो, त्यो बुझ्न सकिएन । किनभने त्यो कालखण्डमा जुनसुकै नेपालीलाई पनि उपत्यका छिर्न प्रवेशाज्ञा चहिन्थ्यो भन्ने कुरा किन नलेख्नुभएको ?
जंगबहादुरले नयाँ मुलुक फिर्ता ल्याएकोमा किन गर्व लागेन ? कूटनीतिका बिभिन्न आयाम हुन्छन्, जसको प्राथमिक उद्देश्यचाहिँ केवल राष्ट्रहित नै हो । कूटनीतिको प्रयोगबाट (जसमा सैनिक सहयोग पनि बुझियोस्) जंगबहादुरले गुमेको जमिन फिर्ता ल्याउँदा कसरी दान भन्न मिल्छ ? त्यो जमिनमा त नेपालीकै हक थियो । त्यसकारण ब्रिटिसले नेपालबाट लिएको जमिन जंगबहदुरले फिर्ता ल्याउँदा राम्रो कामको जश दिनुपर्छ कि पर्दैन ?
पुरानो राष्ट्रियताले मधेसी, आदिबासी जनजातिको सभ्यता, संस्कृति र भाषाको सर्वनाश गर्यो भन्ने हो भने नेपालमा हाल कसरी १२५ जात र १२३ भाषा जीवित रहन सक्छ ? अर्को कुरा हिन्दु संस्कार जबर्जस्ती लाद्यो भन्ने कुरा हावादारी ।
अर्को केपी ओलीलाई खुइलाउने जुन कुरा नेपालको राजनीतिमा भएको कुरा गर्नुभयो, त्यसको नालीबेली जगजाहेर छ । केपी ओलीले भारतीय नाकाबन्दीको कडा प्रतिरोध र सामना नगरी लम्पसार भएको भए आजसम्म उनी नै प्रधानमन्त्री हुन्थे, त्यो गरेनन्, त्यही भएर ओली खुइलिनुपरेको हो । यसको मूल्याङ्कन आगामी चुनावमार्फत जनताले दिने अभिमतले हुनेछ ।
भाडामा सैनिक बनेको कुरा गर्नुभएको छ, त्यो राजनीतिकभन्दा पनि धेरै आर्थिक हो । आफ्नो आर्थिक स्थितिले मजबुर नेपाली युवाहरू ब्रिटिस र भारतीयहरूको लागि लड्छन् । त्यसकारण यसको दीर्घकालीन आर्थिक समाधान खोजिनुपर्छ्र ।
तपाईं आफै कल्पना गर्नुस्, जो युवा छिमेकीका लागि आफ्नो रगत बगाउन सक्छन् भने परेको खण्डमा आफ्नो देश र संस्कृतिको लागि केमात्र गर्न सक्दैनन् ? तपाईं ढुक्क हुनुस् कि पराधीनतासँग लड्ने नवउपनिवेशवाद विरोधी राष्ट्रवाद नेपाली गाउँ—सहरका गल्ली—गल्लीमा मजबुत छ ।
साभार कान्तिपुर (आज कान्तिपुरमा प्रकाशित रबिन्द्र फुयालको शक्तिशाली पाठकपत्र )
Comments[ 0 ]
Post a Comment