#
|
|
भारतसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध अनौठो छ । भारतीय मिडियाले प्रचण्डलाई भारत विरोधी नेता भनेर चित्रित गर्छन् । भारत विरुद्ध खुला चुनौती दिने नेपालको नेतामा प्रचण्ड नै पहिलो स्थानमा पर्छन् ।
संविधान जारी भए लगत्तै तत्कालीन प्रधानमन्त्री सुशील कोइराला चुप बसिरहेको र हुने वाला प्रधानमन्त्री ओलीले भारतविरुद्ध बोलीमा नरम नीति अख्तियार गरिरहेको समयमा प्रचण्डले भारतलाई खुल्ला मञ्चबाट आफूहरु भारतको ‘एस म्यान’ बन्न तयार नहुने खुल्ला चुनौती दिए ।
प्रचण्डले शान्ति प्रक्रियामा आएपछि भारतविरुद्ध निक्कै उग्र अभिब्यक्ति दिए । पहिलो पटक प्रधानमन्त्री बनेर ९ महिनामै कुर्सी छोड्दा प्रचण्ड भारतसँगनै सबैभन्दा बढी रिसाएका थिए । भारतलाई ‘विदेशी प्रभु’ भन्दै उनले विदेशी प्रभुसँग नझुक्ने बताएपछि भारतीय संस्थापन उनीसँग क्रुद्ध हुन पुग्यो । इतिहासले पुष्टी गरिसकेको छ । नेपालमा भारत दाइना भएन भने सत्तामा जान सकिन्न गैहाले टिक्न सकिन्न । प्रचण्डकै पहिलो प्रधानमन्त्रीय कार्यकालले यो कुरा राम्रैसँग पुष्टि गरेको थियो । केपी शर्मा ओलीको हकमा पनि यो कुरा लागु भएरै छोड्यो ।
के प्रचण्डले माफी मागेकै हुन् त ?
प्रचण्डले पहिलो पटक प्रधानमन्त्री बन्ना साथ क्रम भंगता भन्दै पहिलो विदेश भ्रमण चीन भ्रमण गरेका थिए । तर उनलाई आफूले गल्ती गरेको अनुभव विमानस्थलमा आइ नपुग्दै भैसकेको थियो । प्रचण्डले यस पटक क्रम भंगता नगर्ने निश्चित भैसकेको छ । तर भारत भ्रमणमा जानै लाग्दा प्रचण्डमाथि गम्भिर आरोप लागेको छ । उनले भारतीय प्रधानमन्त्रीलाई माफी माग्दै पत्र पठाएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले उक्त पत्र सार्वजनिक गर्न माग गरिरहेको छ ।
यस विषयमा प्रचण्डका विशेष दुत बनेर विमलेन्द्र निधी मात्र नभएर प्रचण्ड आफैले समेत पटक पटक स्पष्टिकरण दिइसकेका छन् । तर एमाले (खासगरी ओली निकट) निकट नेपालका कतिपय सञ्चार माध्यमले भने भारतीय विश्लेषकहरुलाई उद्धृत गर्दै प्रचण्डले माफी मागेको र मोदीले त्यसलाई अनुमोदन गरेको प्रचार गरेका छन् । कतिपय मिडियामा प्रधानमन्त्री प्रचण्डले विगतमा आफूहरुबाट गल्ती भएको र आगामी दिनमा त्यस्तो कुनै गल्ती नगर्ने व्यहोराको पत्र मोदीलाई पठाएको श्रोतको हवाला दिँदै समाचार प्रकाशित गरेका छन् ।
विगतमा भारतलाई नसोधी संविधान जारी गरेपछि असन्तुष्ट भारतलाई खुशी पार्न प्रधानमन्त्रीले सो व्यहोराको पत्र पठाएको स्रोतको दाबी छ। प्रचण्डले मंगलबार बालुवाटारमा बोलाएको प्रमुख ३ दलका शीर्ष नेताको बैठकमा समेत एमाले नेता भीम रावलले सकारले भारतलाई पठाएको भनिएको पत्रबारे कुरा उठाएपछि प्रचण्डको विशेष दुत बनेर भारत गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र भीम रावलबीच चर्का चर्की परेको तथ्य बाहिर आएको छ ।
पत्रबारे प्रचण्डले के भनेका छन्ः
केही दिन अघि प्रधानमन्त्री प्रचण्डले नेपाल टेलिभिजनको प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रममा भनेका थिए, “छिमेकी मित्रराष्ट्र भारतलाई सरकारले पठाएको पत्रबारे प्रतिपक्षी दलका साथीहरुको प्रचार सुन्दा दुःख लागेको छ । औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख गरिएको छैन । नेपालको राष्ट्रिय हित र सार्वभौमिकताबारे सरकार दृढ र प्रष्ट छ । मैले राष्ट्र हित विपरितको पत्र लेख्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ । दुई देशीय सम्बन्ध सुदृढ गर्ने र उच्चस्तरीय भ्रमणबाहेक पत्रमा कुनै कुरा लेखिएको छैन । यो आधारहिन प्रचार हो । यस्तो प्रचारबाट एकछिन भ्रम दिन त सकिएला । तर, प्रकारान्तरमा गलत प्रचार गर्ने साथीहरुकै विश्वासनियता घट्छ भन्ने म ठान्छु ।”
भारतका चर्चित बाम पन्थी पत्रकार एवं तिसरी दुनियाँका सम्पादक आनन्द स्वरुप बर्माले प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग क्षमा याचना गरेको र मोदीले उक्त याचिका अनुमोदन गरेको जानकारी हिन्दुतास्तान टाइम्सको समाचारबाट पाएको भन्दै स्ट्याटस नै लेखेका छन् ।
बर्माले लेखेका छन्, “आज के हिंदुस्तान टाइम्स में प्रशाशित प्रशांत झा की रिपोर्ट से पता चला कि नेपाल के माओवादी नेता और प्रधानमंत्री प्रचंड ने आपने विशेष दूत और गृहमंत्री बिमलेन्द्र निधि से नरेन्द्र मोदी के पास सन्देश भेजा है कि अतीत में उनसे कई गलतियां हुईं क्योंकि उन्हे. खुली राजनीति का अनुभव नहीं था, और वह इस बात का ध्यान रखेंगे कि भविश्य में ऐसा न हो और भारत के साथ अच्छे सम्बन्ध बने रहें .मोदी ने इस माफीनामे को फिलहाल कबुल कर लिया है ।”
भारतीय कतिपय मिडीया तथा नेपालमा प्रतिपक्षी दलको मुद्धालाई उराल्ने रणनीतिका कारण मोदीलाई प्रचण्डले पठाएको भनिएको पत्र निक्कै रहस्यको विषय बनेको छ । पत्रमा रहेका विवरणबारे सार्वजनिक भैरहेका अनुमानात्मक टिका टिप्पणीहरुले प्रचण्डको छविमाथि प्रश्न लगाइदिएको छ । भारतमा भारत विरोधी र नेपालमा भारत परस्तको विरोधाभाषपूर्ण छविबाट गुज्रिरहेका प्रचण्डले साँच्चिकै मोदीसँग माफी मागेका हुन् कि होइनन् भन्ने विषयमा यो पत्र साँच्चिकै (एमालेको माग जस्तै) सार्वजनिक नभए सम्म यसै भन्न नसकिने देखिन्छ । यद्यपी यो पत्रले प्रचण्ड विरुद्ध प्रोपोगाण्डा गर्नेहरुलाई भने मसला दिएको छ ।
तर आनन्दस्वरुप बर्माले संकेत गरे जस्तो प्रचण्ड माफी मागेर मोदीले अनुमोदन गरेको सत्य हो भने चाँहि देशका लागि खतरनाक संकेत हो । किन भने कुनै बेला निक्कै आक्रामक भारत विरोधी कित्तामा रहेका प्रचण्डले भारतसँग माफी मागेर शासन गर्ने अवस्था आउनु देशका लागि दीर्घकालीनरुपमा नै घातक हुन सक्छ ।
Comments[ 0 ]
Post a Comment