#
|
|

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई राम्रो काम गरे साथ दिइने बताएका छन् ।
भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा पुगेपछि आज समर्थकसँग उनले आफूले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिँदै राम्रो काम गर्नुस् भनेर सुझाव दिएको बताए।
उनले हामीले अगाडि बढाएका विकासका कार्यक्रम र सम्झौता कार्यान्वयन गर्छु भन्नु प्रधानमन्त्री दाहालको राम्रो कुरा हो भने । उनले भने, “हामीले कोरेको विकासको बाटोमा हिँड्नु पर्छ, देश मै खनिज र इन्धनलगायत खानी पत्ता लगाएर उत्खनन् गर्न सुरु गरेका छौँ, यसलाई पूर्ण बनाउन सके विदेशीको भर पर्नुपर्दैन ।”
पैसा नभएर विकासको काम नरोकिने तर योजना बनाउन नसके र क्षमता नभए विकास नहुने उनको टिप्पणी थियो ।
आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले तराईका मुद्दाको सम्बोधन गरेको जिकिर गर्दै उनले मधेसवादी मोर्चाको ३६ बुँदे माग घटेर अहिले तीनबुँदेमा सीमित भएको बताए । नेकपा (एमाले)का अध्यक्ष ओलीले आगामी असोजपछि एमालेले तराईमा अभियान चलाएर मधेसी मोर्चाले तराईका जनतालाई झुक्याएका विषयको भण्डाफोर गरी तराईको विकासमा आफूले गरेका कामको जानकारी गराइने बताए ।
निवास पुगेपछि उनलाई बुबा मोहनप्रसाद ओलीले टीका र माला लगाएर स्वागत गरेका थिए भने समर्थकले ओलीको पक्षमा नारा लगाएका थिए । रासस
Comments[ 0 ]
Post a Comment