#
|
|

काठमाडौं । गायिका कोमल वलीले यसपालिको तीज गीतमा पोइ सिरिजको अन्तिम गीत गाएको कुरा गरिन् । अर्की अविवाहित नायिका दिपाश्री निरौला पनि श्रीमान्को खोजीमा महादेवको शरणमा पुगेकी छिन् ।
बाहुन् होस्, क्षेत्री होस् भन्छन् जनजाति
महादेव टुंगो लाइदेऊ मेरो जीवनसाथी …
निशा सुनारको स्वर रहेको तीज गीतमा दिपाश्री छमछमी नाचेकी छिन् । निशाको साथी दिपाश्रीले साथीको आग्रह टार्न नसकेपछि गीतमा मोडलिङ गरेकी थिइन् । तर, अहिले उनलाई ठीकै गरिछु भन्ने लागिरहेको छ । ‘अहिले गीत सुन्दा निकै राम्रो लागेको छ । कोमल दिदीले लास्टै चोटि भन्नुभयो, मेरो भने इनिङ,’ अनलाइनखबरसँग कुरा गर्दै दिपाश्रीले भनिन् ।
गीतमा जातीय छुवाछुतको कुरा उप्काउँदै समानताको सन्देश पनि दिन खोजिएको छ । तीज पर्वलाई धेरै जातका महिलाले स्विकार्दै आएकाले पनि यसको महिमा बढ्दै गएको उनले अनुभव गरेकी छिन् ।
हरेक वर्ष तीजमा केही गीतमा अभिनय गर्दै आएकी दिपाश्री यसपालि अरु गीतमा मोडलिङ नगर्ने मुडमा छिन् । ‘यसपालि अझै १५ दिन फिल्मकै काममा व्यस्त हुनुपर्छ, अरु भिडियोमा काम गर्दिना,’ उनले भनिन् । यो बीचमा उनले केही विज्ञापनमा भने काम गरेकी छिन् ।
सपनामा पनि छक्का पञ्जा देख्छु
‘छक्का पञ्जा’ नाम राखेर चलचित्र निर्देशन गरेकी दिपाश्री अहिले सपनामा पनि ‘छक्का पञ्जा’ नै देख्न थालेकी छिन् । निर्देशनमा दीपकराज गिरी अहिले उनका सहायक बनेका छन् ।
सम्पादनको अन्तिम चरणमा पुगेको फिल्मको अहिले ब्याकग्राउन्ड म्युजिक र कलर करेक्सनको काम भइरहेको दिपाले जानकारी दिइन् । ‘अब १५ दिनमा फिल्म तयार हुन्छ, अहिले त्यसैका लागि भिडेकी छु’ उनले भनिन् ।
विपिन मल्लले सम्पादन गरेको फिल्ममा कपिल पराजुलीले कलर करेक्सनको काम गरेका छन् भने सुशील कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक रहनेछ ।
Comments[ 0 ]
Post a Comment