#
|
|

नेपाल विद्युत प्राधिकरणले पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाहको निवास महेन्द्र मन्जिलमा बिजुली लाइन काटेकोप्रति राप्रपा नेपालले आपत्ति जनाएको छ ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले ८९ बर्षीया वयोवृद्धाले प्रयोग गरिरहेको महेन्द्र मञ्जीलको विद्युतको लाइन काट्ने कार्य अत्यन्त अमानवीय, अमर्यादित र अनुपयुक्त रहेको बताएको छ ।
राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले सोमबार जारी गरिएको विज्ञप्तिमा, “नेपाल सरकारको स्वामित्व रहने गरी पूर्व मुमा बडामहारानीलाई महेन्द्र मंजिलमा बस्ने व्यवस्था मिलाउने सरकारकै पूर्व निर्णय उल्लंघन हुने गरी लाइन काट्नु सभ्य सरकारलाई सुहाउने विषय हैन । उक्त निर्णय तत्काल सच्चाई विद्युत आपुर्ति सुचारु गर्न नेपाल सरकारसंग राप्रपा नेपाल आग्रह गर्दछ ।” भनिएको छ ।
उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले आइतबार रत्न बस्दै आएको नारायणहिटी दरबार संग्राहलायस्थित महेन्द्र मञ्जिलको विद्युत आपुर्ति बन्द गरेको थियो।
लामो समयदेखि महसुल नतिर्ने ठूला ग्राहको लाइन काट्ने अभियान अन्तर्गत प्राधिकरणले महेन्द्र मञ्जिलको लाइन काटेको हो । महेन्द्र मञ्जिलले झण्डै ३७ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
यसैबीच संस्कृति मन्त्रालयले उर्जा मन्त्रालयलाई एक पत्र लेख्दै महेन्द्र मञ्जिलको विजुली सुचारु गर्न आग्रह गरेको छ ।
Comments[ 0 ]
Post a Comment