#
|
|

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दुत तय भएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सोमबार चीन जाने भएका छन् ।
भारत र चीनसँग आफ्नो सरकारले विशेष सम्बन्ध विस्तार चाहेको सन्देश दिन र चीन र भारतीय भिभिआइपीका सम्भावित नेपाल भ्रमणलाई सहजिकरण बनाएर आफ्नो कार्यकालमा सम्बन्ध सुधारको संकेत दिन प्रचण्डले महरालाई चीन पठाउन लागेका हुन् ।
आफ्नो दोश्रो मन्त्रीपरिषद बैठकबाट प्रचण्डले महरालाई चीन र अर्का उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई भारत विशेष दुत बनाएर पठाउने निर्णय गरेका थिए ।
महराका स्वकीय सचिव हिमाल शर्माले महरा भोली बिहान ११ बजे चीन प्रस्थान गर्ने कार्यक्रम रहेको बताए ।
कृष्णबहादुर चीन निकट नेता मानिन्थे । उनी चीनसँग जोडिएर विवादमा पनि आएका थिए । तर पछिल्लो पटक ओली सरकार ढाल्ने समयमा भने उनी भारत गएर गोप्य वार्ता गरेको आरोप लागेको थियो ।
उनीमाथि अख्तियारको डरले चीनको साथ छोडेर भारत तिर लागेको आरोप समेत लाग्ने गरेको छ । यद्यपी कुटनीतिक भाषा शैली र ब्यवहार भएका महरा प्रचण्डका मात्र होइन चीनका लागि पनि विश्वास पात्र नै भएको मान्ने गरिन्छ ।
महराले शान्ति प्रक्रियामा आएपछि पटक पटक चीनको भ्रमण मात्र गरेका छैनन् नेपालको राजनीतिमा चीनको प्रभाव बढाउन भूमिका पनि खेलेको आरोप खेपेका छन् ।
यसर्थमा महराको चीन भ्रमण पनि फलदायी नै हुने सम्भावना देखिन्छ । महराको पहिलो एजेण्डाकोरुपमा आगामी अक्टोबरमा हुने भनिएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तिथि तय गर्न र भारतमाथिको ब्यापारिक एकलौटी निर्भरता कम गर्न चिनियाँ सहयोग लगायतका कुरामा समेत महराको भ्रमणताका चर्चा हुने बुझिएको छ ।
त्यसैगरी दोश्रो मुख्य एजेण्डाको रुपमा प्रधानमन्त्री प्रचण्डको आगामी चीन भ्रमणबारे समेत छलफल हुने र सम्भावित एजेण्डा तय गर्ने काम महराले गर्नेछन् ।
Comments[ 0 ]
Post a Comment