#
|
|

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपाली विरुद्ध गम्भिर षडयन्त्र भैरहेको दावी गरेका छन् । एमाले निकट पत्रकार संगठन प्रेस चौतारीले बुधबार राजधानीमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा ओलीले सरकार परिवर्तन नै देश विरुद्धको षडयन्त्र भएको दावी गर्दै देश विरुद्ध षडयन्त्र गर्न एमालेमाथि षडयन्त्र गरिएको आरोप लगाए ।
उनले भने, “एमालेलाई बदनाम नगरिकन नेपाललाई कमजोर बनाउन नसकिने भएर गम्भिर षडयन्त्र भैरहेका छन्” । बालुवाटारबाट भाँडा हराएको भन्ने समाचारप्रति इङ्गित गर्दै उनले एमालेको बदनाम गरेर नेपाललाई कमजोर बनाउने षडयन्त्र भैरहेको दावी गरे ।
ओलीले राजनीतिलाई सम्भावनाको खेल र राजनीतिलाई पद प्राप्त गर्ने खेलकोरुपमा लिइएको भन्दै प्रधानमन्त्री प्रचण्डप्रति ब्यङ्ग्य गरेका छन् ।
आफूलाई विस्तापित गर्दै प्रधानमन्त्री बनेका प्रचण्डले संसदमा प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै प्रचण्डले राजनीतिलाई सम्भावनाको खेल भनेका थिए । कांग्रेस ठूलो पार्टी भएको र केवल ८२ सिट भएको माओवादीलाई समेत पदहरुको समानुपातिक वितरण गर्न भन्दै सभामुख र उपराष्ट्रपति समेत दिने सहमति भएको उल्लेख गर्दै ओलीले प्रचण्डले पदलाई केन्द्रमा राखेर अघी बढेको आरोप लगाए ।
‘राजनीति सम्भावनाको खेल, पदमा केन्द्र भागमा राखेर अघी बढेपछि के भन्ने?’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले बताए । प्रचण्ड सरकारको निर्णयप्रति आपत्ति जनाउँदै ओलीले मधेश आन्दोलनमा मारिएकाहरुलाई क्षतिपुर्ति र घाइते भएकाहरुलाई उपचार गर्न आफ्नो सरकारले नै पैसा दिइसकेको भन्दै अहिले आएर पुनः त्यही निर्णय गरिएको भन्दै प्रचण्डप्रति आक्रोश ब्यक्त गरे ।
लोक कल्याणकारी राज्यको मोडलमा काम गर्दा आफ्नो सरकार ढालिएको गुनासो गरेका छन् । देशलाई आत्मनिर्भर गराउने र आफ्नै देश विकाशको योजना अघि सर्दा अर्को देश विरुद्ध लागेको जस्तो गरि प्रस्तुत गरिएको उनको गुनासो छ ।
“लोडसेडिङ अन्त्य गर्छु भन्दा पनि विरोध गर्ने? देशलाई आत्म निर्भर बनाउँछु भन्नु गल्ती हो”, ओलीले आक्रोशित मुद्रामा प्रश्न सोधे । पूर्व पश्चिम रेल वे देखि पोखरा केरुङ पोखरा लुम्बिनी रेल वे जस्ता विशाल विकाशका परियोजनामाथि काम शुरु हुन लाग्दा सरकार ढालिएको उनको गुनासो छ ।
‘अहिले सरकार ढाल्नु पर्ने कारण नै थिएन, राजनीतिक, आर्थिक र जनमत कुनै पनि आधारमा सरकार ढाल्नु पर्ने कारण थिएन’, ओलीले भने । नेपालका राजनीतिक दलहरुले आफ्नो निर्णय आफै गर्न सक्ने अवस्था नरहेका कारण आफ्नो सरकार ढलेको दावी गर्दै ओलीले प्रचण्डको निर्णय अन्तैबाट निर्देशित रहेको दावी गरे ।
आफ्नो सरकारले सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिएर युवाहरुलाई रोजगारी उपलब्ध गराउँदै जाने विकाशको सपना आफूले देखेको ओलीले सुनाए । यातायात र सञ्चारको आधारभूत विकाश गरेर सहकारीको माध्यमबाट साना उद्योगलाई आधुनिकीकरण गरेर रोजगारी सृजना गराउनेमा जोड दिएको दावी ओलीले गरे ।
Comments[ 0 ]
Post a Comment