#
|
|
काठमाडौँ, २९ असार । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता दिएपछि भारतीय राजदूत रञ्जित रेको दौडधुप फेरि बढेको छ । माओवादीले समर्थन फिर्ता लिएको २४ घण्टा बित्न नपाउँदै भारतीय राजदूत रेले बिभिन्न पार्टीका नेताहरुसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । स्रोतका अनुसार, राजदूत रेले मंगलबार साँझ लैनचौरस्थित भारतीय दूतावासमा बिभिन्न दलका नेताहरुलाई बोलाएर परामर्श गरेका हुन् ।
ओली सरकार हटेकोमा आफू निकै खुसी भएको बताउँदै उनले उपस्थित नेताहरुलाई भनेका थिए– ‘भारत सफल भयो । अत्यन्त मेहनतका साथ केपी ओलीलाई सफलतापूर्वक सरकारबाट हटाइयो । अब दुईमहिनाभित्र प्रचण्डलाई भारतको भ्रमण गराउँछौँ । मधेशको समस्या, सीमाङ्नको समस्या पनि हल हुन्छ ।’ भेटमा सहभागी एक नेताले ‘सरकारबाट हटेपछि एकातिर केपी ओली, अर्कातिर शेरबहादुर देउवा हुन्छन् कसरी समस्याको हल हुन्छ ?’ भनी जिज्ञासा राखेका थिए ।
जबाफमा राजदूत रेले भने– ‘यो चिन्ता नगर्नुस, यो सबैकुरा मिलिसक्यो, हामी मिलाउँछौँ ।’ भारतीय राजदूत निकै ‘कन्फिडेन्स’ देखिएको भेटमा सहभागी मधेशी मोर्चाका एक नेताले बताए । भेटमा काँग्रेस, माओवादी तथा मधेशी मोर्चाका केही नेता सहभागी थिए । खासगरि, केपी ओली सरकार बनेपछि भारतीय राजदूतको दौडधुप केही कमी भएको थियो । ओली र राजदूत रेबीच दूरी नै बढेको थियो । राजदूतलाई आफ्नो पदीय मर्यादामा बस्न तथा परराष्ट्र मन्त्रालयमार्फत समय लिएर मात्र भेट्न आउन भनेपछि भारतीय राजदूत ओलीसँग झनै चिढिएका थिए । ओली सरकारलाई भारत र नेपालीस्थित भारतीय राजदूत रेले अस्तित्वको लडाईंसँग लिँदै आएका थिए ।
Comments[ 0 ]
Post a Comment