#
|
|

नौ बुँदे सहमति एमालेले कार्यान्वयन नगरेको भन्दै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोधारमा परेका छन् ।
सरकारको नेतृत्व गरिरहेको एमालले माओवादीले समर्थन फिर्ता लिएर सरकार गठनको प्रक्रिया अगाडि बढाए प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई समर्थन गर्ने तयारी गरेपछि प्रचण्ड दोधारमा परेका हुन् । कांग्रेसले सरकार गठन गर्नको लागि सरकारबाट बाहिरिएर आउनु पर्ने कडा शर्त अगाडि सारेपछि सरकार परिवर्तन गर्ने कस्सिएको माओवादीको पोलिटब्युरो बैठक लम्बिएको छ ।
जारी पोलिटब्युरोको बैठकमा नेताहरुले सरकार परिवर्तन गर्ने,नगर्ने बारेमा नेताहरु मिश्रित सुझाव दिएपछि प्रचण्ड निकै संकटमा परेको माओवादीका एक नेताले बताए । उनले भने,‘सरकार गठनमा माओवादी निर्णायक हो शक्ति हो, पार्टीभित्रबाटै सरकार परिवर्तन गर्नुपर्ने र गर्न नहुने पक्षमा नेताहरु विभाजित भएपछि अध्यक्षलाई थप चुनौती देखिएको छ ।’
गत वैशाखमा पनि नेताहरुको दबाबमा परेर सरकार परिवर्तन गर्ने निर्णय लिएका प्रचण्डले २४ घण्टापछि निर्णय सच्याएर एमालेसँग नौ बुँदे सहमति गरेका थिए । पार्टीभित्र विवाद हुने देखिएपछि यस पटक सरकारको बारेमा निर्णय लिनको लागि अधिकार आफूसँग लिएका छन् ।
सरकार तत्काल छोडनु पर्ने भन्दै कृष्णबहादुर महरा, बर्षमान पुन जनार्दन शर्मा लगायतका नेताहरु हात धोएर लागेका छन् भने अहिले सरकार परिवर्तन गर्नु नहुने पक्षमा गृह मन्त्री शक्ति वस्नेत, उर्जा मन्त्री टोपबहादुर रायमाझी वन मन्त्री अग्नी सापकोटा लागयतका मन्त्रीहरुले सरकार छोडन नहुने भन्दै प्रचण्डलाई रातदिन लबिङ गरिरहेका छन् ।
सरकारको बारेमा निर्णय लिनको लागि आज पनि माओवादीको पोलिटब्यूरो बैठक बस्ने भएको छ । दिउसो ११ बजे बस्ने बैठकमा प्रचण्डले सरकारको बारेमा निर्णय लिने माओवादीले बताएको छ । पोलिटब्यूरो सदस्य २ सय ९९ बनाउन प्रस्ताव गरेपनि हाल २ सय २२ जना पोलिटब्यूरो सदस्यहरु रहेका छन् ।
Comments[ 0 ]
Post a Comment