तीनकुनेमा यस्तो बन्ने भो बुद्ध मूर्तिसहितको शान्ति मण्डला (भिडियोसहित)
Monday, July 11, 2016
#
२७ असार, काठमाडौं । काठमाडौंको तीनकुनेमा जस्तापाताले बेरिएको खुला जमीन छ । तर, अब यो खुल्ला ठाउँ एउटा मनमोहक आध्यात्मिक केन्द्र बन्ने भएको छ । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाको सपना साकार पार्ने गरी महानगरपालिकाले यहाँ धार्मिक संरचना बनाउन लागेको हो ।
हिउँदमा धुलाम्मे र वर्षामा हिलो एवं झाडीले ढाक्ने झण्डै ५० रोपनीको यो चौरीलाई महानगरपालिकाले एउटा धार्मिक एवं आध्यात्मिक पार्कका रुपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ ।
छाडा पशु चर्ने र सिकारु गाडी चलाउने ठाउँका रुपमा रहेको यो ठाउँ अब योजनाअनुरुप काम भए केही वर्षभित्रै शान्ति मण्डलाको रुपमा विकसित हुनेछ ।
चौरलाई बौद्ध र हिन्दुधर्मको फ्युजन गरेर आत्यात्मिक एवं धार्मिक पर्याटनस्थलको केन्द्र बनाउने लक्ष्यसहित यसको सम्भाव्यता अध्ययन गरिएको हो । अब यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीअार) तयार पारेर कार्यान्वयनमा लैजाने महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले अनलाइनखबरलाई बताए ।
मुख्य विशेषता शान्ति मण्डलाको मुख्य आकर्षणका रुपमा बुद्धको मूर्ति रहनेछ । मण्डलाको बीच भागमा यो मुर्ति राखिने छ । जमिनको सहतदेखि १ सय ८ फिट अग्लो रहने यो मूर्ति हिन्दु तथा धार्मिक पर्यटकका लागि लक्षित हुनेछ ।
मण्डलाको प्रारम्भिक अवधारणसहितको डिजाइन तयार भइसकेको छ । महानगरपालिकाले तीनकुनेको संरचना तयार पार्न आर्किटेक्ट डिजाइन एसोसिएट्सलाई यसको सम्भाव्यता अध्ययनको जिम्मेवारी दिएको थियो । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नै यो बुद्धको प्रतिमासहितको बगैंचा निर्माण गर्न चासो देखाएका थिए । महानगरपालिकाको वाषिर्क बजेट सार्वजनिकरण गर्न भएको कार्यक्रममा थापाले तीनकुनेमा बुद्धको मुर्ति राख्ने प्रक्रिया थाल्न महानगरपालिकालाई निर्देशनसमेत दिएका थिए ।
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत तामाङ डीपीआर तयार गरेर सकेसम्म छिट्टै यो परियोजना निर्माण गरिसक्ने बताउँछन् । पार्क निर्माणका लागि १ अर्व २३ करोड ४६ लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कस्तो हुन्छ मण्डला ?
मण्डलालाई हिन्दु र बौद्ध धर्मको मर्मलाई फ्युजन गरेर निर्माण गर्न लागिएको छ । मण्डलाको बीच भागमा ५४ फिट अग्लो स्तुपा आकारको संरचना निर्माण गरिनेछ । जसलाई माटोले भरिने छैन । स्तुपाभित्र तीनतलाको संरचनाहरु निर्माण हुनेछ । बाहिरी भागमा भने दुबो सहितको चाैर रहनेछ । जसमा विभिन्न मण्डला जनाउने क्रसहरू रहनेछन् ।
स्तुपाभित्रको भन्दा तल्लो तलामा पार्किङको व्यवस्था गर्ने योजना बनेको छ । दोस्रो तलामा ध्यान केन्द्र निर्माण गरिनेछ । भने तेस्रो तलामा क्युरेटर सपहरु रहनेेछन् । ध्यान केन्द्र अर्थात ‘मेडिटेसन’ हलमा विभन्न आध्यात्मिक कार्यक्रम गर्न प्रयोग गरिनेछ । पार्कभित्र शंख चक्र पार्कसहित हलमा एकैपटक दुई सय जनाले योग गर्न सक्नेछन् ।
क्युरेटर सपमा भने विभिन्न धार्मिक वस्तु र सजावटका सामाग्रीहरु किन्न सकिने छ । त्यही स्तुपाको माथि बानेश्वरतर्फ फर्किएको १६ मिटर अग्लो बुद्धको मूर्ति सजाइनेछ । यसले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनेछ ।
मूर्तिको छेउमा दुईवटा मन्दिर जसतै संरचना राख्न प्रस्ताव गरिएको छ । तर, त्यसमा मूर्ति राख्ने योजना महानगरको छैन ।
मण्डलाको तीनै कुनालाई बौद्ध र हिन्दु धर्मको मर्मसँग फ्युजुन गर्ने योजना छ । तीन कुनालाई हिन्दूधर्मको ब्रहृमा, विष्णु र महेश्वरको प्रतीकका रुपमा लिन सकिने सोचमा यसको डिजाइन भएको छ ।
यस्तै बौद्ध धार्मावलम्वीहरुले तीनै कुनालाई आफ्नो दर्शनअनुसार बुद्ध धर्ममा ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’लाई मान्न सक्नेछन् । ‘यहाँ प्रतीक झल्किने कुनै चीज हुनेछैन । तर, आध्यात्मिक ठाउँ भएकाले धार्मिक प्रतीकका रुपमा मात्रै विकास गरेका हौं’ कार्यकारी प्रमुख तामाङले भने ।
Comments[ 0 ]
Post a Comment